देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्। आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमा बढेको कर तथा लामो समयदेखि कायम कोटा प्रणाली खारेज गर्नुपर्ने माग राखेर सुनचाँदी व्यवसायी आन्दोलित भएका हुन्।
अर्थमन्त्रीलगायतलाई सुुनमा बढेको कर तथा कोटा प्रणाली खारेज गर्न माग राख्दै आएपनि सुनुवाई नभएपछि दबाब सृजना गर्ने उदेश्यले व्यवसायीहरुले गत जेठ २० गते माइतिघर मण्डलामा आन्दोलन समेत गरेका थिए। आफुहरुको मागको सुनुवाई नभए आन्दोलनलाई थप शसक्त बनाउने संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ़ संघर्ष समितिले बताएको छ ।
विसं २०६८ सालदेखि सुनआयातमा लगाईएको कोटा प्रणाली कुनै पनि हालतमा खारेज हुनुपर्ने तथा अहिले बढेको कर पनि खारेज हुनुपर्ने संयुक्त सुनचाँदी व्यवसायी तथा कालिग संघर्ष समितिका संयोजक विपिन रामदामुले बताए।
सरकारले आगामी बजेटबाट भन्सारमा ५ प्रतिशत कर थप गर्दा खुला सिमानाका जनकपुर, विरगञ्ज बिर्तामोड, बुटवल, भैरहवा, झापालगायतका ठाउँमा भएका सुनचाँदी व्यवसाय बन्द हुने र ढिलोचाँडो त्यसको असर देशभर पर्ने व्यवसायीहरुको गुनासो छ।
“भन्सारमा ५ प्रतिशत बढाउने बित्तिकै भारतमाभन्दा नेपालमा सुन प्रतितोला ७ हजार रुपैयाँ महँगो पर्न जान्छ, यसले भारतबाट नेपालमा सुन र गहना आउने बाटो खोल्दिन्छ, जसले गर्दा नेपालका सिमानाका तथा देशभरका सुनचाँदी व्यवसाय बन्द हुने पक्कापक्कि छ”,नेपाल रत्न तथा आभूषण संघ काठमाण्डौका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए।
व्यवसायीको भनाइमा विश्वास नलागे बढेको ५ प्रतिशत कर कत्तिको जायज हो या होइन भन्ने कुरा सरकारले नै एउटा समिति बनाएर अध्ययन गर्नुपर्ने र अध्ययनबाट आएको नतिजाको आधारमा निर्णय लिनुपर्ने उनको भनाइ छ ।
यसैगरी, सुनचाँदी व्यवसायीहरुले पछिल्लो समय सुन आयातमा कायम कोटा प्रणाली खारेजको माग पनि जोडदार रुपमा उठाएका छन्। कोटा प्रणालीले सुनचाँदी व्यवसायमा सिन्डिकेट कायम भएकाले यो व्यवस्था नै खारेज गर्नुपर्ने गुप्ताको भनाइ छ ।
“कोटा प्रणाली खारेज गरेर कर चुक्ता र प्यानको आधारमा सम्बन्धित व्यवसायी आफैले बैंकमार्फत एलसी खोलेर सुनचाँदी ल्याउन पाउने व्यवस्था गरिनुपर्छ”, उनले भने, “अहिलेको कोटा प्रणालीले संघ र महासंघका केहि व्यक्तिहरु मात्र मोटाउने तर देशभरका १९ हजार ८०० व्यवसायी मर्ने अवस्था आएको छ, त्यसैले कोटा प्रणाली खारेज हुनुपर्छ।”
नेपाल रत्न तथा आभूषण संघ काठमाडौं, सुनचाँदी व्यवसायी संघ तथा महासंघका आबद्ध देशभरका सुनचाँदी व्यवसायीहरुले सुनमा कोटा प्रणाली खारेज गर्नुपर्ने आवाज उठाइरहेका छन् ।