सुनचाँदीका गहनामा व्यवसायीहरु मिलेर बनाएको 'व्यवसायिक अचारसंहिता' को विरोधमा सांसददेखि उपभोक्ताका नेतासम्मले विरोध जनाएका छन्। व्यवसायीहरुले सुनका गहनामा सिन्डिकेट कायम हुनेगरी आचारसंहिता बनाएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।
गहनामा जर्ती हटाएर वैज्ञानिक ज्याला मात्र लिनुपर्ने आवाज उठिरहेको बेलामा व्यवसायीहरुले आचारसंहिताको नाममा उपभोक्तालाई ठग्ने काम गरेको भन्दै यहि भदौ १९ गतेमात्रै राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले जिल्ला प्रशासन कार्यालय काठमान्डौमा उजुरी दिएका छन्।
सूनको गहनामा अधिकतम १० प्रतिशतसम्म ज्याला लिन पाइने, गहनाको खरिदमा १० प्रतिशतसम्म जर्ती लिन पाइने, आचार संहिता नमान्ने व्यवसायीलाई व्यवसायीहरु मिलेर कारबाही गर्न मिल्ने जस्ता आचारसंहितामा राखिएका व्यवस्था व्यवसायीको लागि मात्रै नभई उपभोक्ताको लागि पनि सहि नभएकाले आचार संहिता खारेजी हुनुपर्ने तथा यस्तो आचार संहिता ल्याउनेलाई कारबाही हुनुपर्ने महर्जनको माग छ।
त्यस्तै राष्ट्रिय जनमतपार्टीका सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले पनि आज संसदमा समय लिएर यो व्यवस्थाको बिरोधमा बोलेका छन्।
सुनको गहनामा जर्ती हटाएर ज्याला मातै लिने आन्दोलनलाई निस्तेज पार्न सुनचाँदी व्यवसायमा आबद्द तिनवटै व्यवसायी मिलेर यहि भदौ एक देखि लागू हुनेगरी आचार संहिता लागू गरेका हुन्। त्यसयता यो आचार संहितालाई लिएर केहि व्यवसायीले समेत बिरोध जनाएका छन्।
सुनचाँदी व्यवसायी आबद्द तीनवटा महासंघ 'नेपाल सुनचाँदी व्यवसायी महासंघ', 'नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ' र 'नेपाल हस्तकला महासंघ' मिलेर भदौ १ देखि लागू हुनेगरी 'व्यवसायिक आचार संहिता २०८१' कार्यन्वयनमा ल्याएका हुन्।
उक्त आचारसंहितामा यसअघिको ज्याला र जर्ती लाई कायम राखिएको छ तर उपभोक्तालाई भ्रममा राख्नको लागि ज्यालाको ठाउँमा निर्माण खर्च राखिएको छ भने जर्तीको नाममा निर्माण क्षती राखिएको छ।
अन्तराष्ट्रिय अभ्यासअनुसार पनि गहनाको खरीद बिक्रिमा बैज्ञानिक ज्याला लिने तर जर्तीको नाममा सुन नकाट्ने छ। सोहि अभ्यास नेपालमा पनि लागू गर्नुपर्छ भन्ने आन्दोलनले बृहत रुप लिएपछि तीनवटा महासंघ मिलेर व्यवसायिक आचार संहिताको नाममा यो नयाँ कुरा कार्यन्वयनमा ल्याएका हुन्।
गहनाको खरिद वा विक्रीमा जर्ती काट्ने अभ्यासले सुनचांदी व्यवसायी बाहेक अरु कसैलाई पनि हित नभएको पछिल्लो गुनासो छ। एक सय लालको गहनामा मुस्किलले जर्ती बापत मुस्किलले २ लाल खेर जाने भएपनि सुन व्यवसायीले १० लाल सम्म काट्ने गरेका छन्।
एक व्यवसायीकाअनुसार जर्तीको नाममा उपभोक्ताबाट लिने गरिएको सुन वा पैसाको कुनै हिसाब किताब नहुँदा यसबाट राजस्व छली भईरहेको छ भने तस्करको सुन प्रयोगलाई समेत प्रोत्साहन मिलेको छ।