सुनचाँदी व्यवसायीका लागि यस वर्षको ब्यापार गत वर्षको जस्तो सुखद नरहेको पाइएको छ। विगतका वर्षहरुमा धनतेरस तथा दशैं तिहारमा राम्रो ब्यापार हुनेगरी यस पटक त्यस्तो नभएको व्यवसायीहरु बताउछन।
व्यवसायीकाअनुसार विगतका वर्षहरुमा एक जना व्यक्तिले दैनिक ५ देखि १० तोला बराबरको गरगहना खरिद गर्नेगरेपनि यस पटक यो अनुपात १ तोलामा झरेको छ। गत वर्ष दैनिक ७० किलोसम्म सुन बिक्रि भएकोमा यस वर्ष ५० किलो बराबरको कारोबार भएको छ। त्यस्तै गत वर्ष १८०० किलो चांदी बिक्रि भएकोमा यस पटक १२०० किलो मात्रै चांदी बिक्रि भएको छ।
सुनमा मन्दी र महँगीको असर
मन्दी र महँगो सुनको भाऊको कारण यस पटक गत वर्ष जस्तो सुनचांदीको कारोबार नभएको व्यवसायी बताउछन। यस पटक सुनको मूल्य बढेर प्रति तोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
विगतका वर्षहरुमा सामान्य कारोबारका दिनमा दैनिक ३० किलोसम्म सुन ब्यापार हुने गरेकोमा पछिलो समय दैनिक १०-१२ किलो सुनको ब्यापार हुने गरेको छ। बाणिज्य बैंक मार्फत दैनिक २० किलो सुन आयात गर्न पाइने भएपनि यस पटक साउन भदौ असोज र कात्तिकसम्म मात्रै १३२ किलो सुन आयात भएको भन्सार बिभागले जनाएको छ।
कहाँबाट आउछ बढी सुन ?
नेपालमा बिभिन्न देशबाट सुन आयात हुनेगरी करिब ९० प्रतिशत सुन दुबईबाट आउने गरेको तथ्यांकले देखाउंछ। दुबईमा सुन अभाव भएमात्रै स्विटजरल्याण्ड, हन्कंग र सिंगापुरबाट सुन आयात हुने गर्दछ। दुबईले अफ्रिकी देशहरूमा खानीबाट निकालिएको सुन आफैँ प्रशोधन गर्दै आएको छ।
कस्तो गुणस्तरको आउँछ ?
नेपाल राष्ट्र बैंक तथा सुनचाँदी व्यवसायीकाअनुसार नेपालमा आयात हुने अधिकांश सुन उच्च गुणस्तरको हुने गर्दछ। राष्ट्र बैंकले छापावाल सुनको आयातका लागि कमर्शियल बैकहरुलाई मात्रै अनुमति दिने गरेको छ। त्यसरी आउने छापावाल सुनमा अन्तर्राष्ट्रिय गुणस्तरको छाप हुने र त्यसमा सुनको मात्रा ९९.९९ प्रतिशत हुने उल्लेख गरिएको हुन्छ।
औपचारिक रुपमा दुबई लगायतका देशबाट नेपाल भित्रिने सुनको गुणस्तरमा कुनै कमी नभएपनि पछिल्लो समय नेपालमा भारतबाट आउने सुन २२ क्यारेटको हुने व्यवसायी बताउछन। पछिल्लो समय नेपालमा सुनको भन्सार दर २० प्रतिशत र भारतमा ६ प्रतिशत हुँदा भारतबाट सुन आउने क्रम बढ्दो रहेको बताइन्छ।