मासु खाँदा यस्ता सावधानी अपनाउन डा. खेमराज भुसालको सुझाव, खान नजान्दा क्यान्सरसम्मको खतरा

मासुको साथमा रक्सि र चुरोट झनै हानिकारक
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 28, 2017 | 10:44:28 AM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दु नेपालीहरुको महान चाड दशैं सुरु भइसकेको छ।  वडादशैँको आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइन्छ।  बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । 

चाडबाडको समय मानिसहरु परिवारजन तथा आफन्तहरुसंग बसी खाने र पिउने गरी रमाइलो गर्ने गर्छन। यो समय खानामा मासुको बढी प्रयोग हुनेगर्छ भने पेय पदार्थमा अल्कोहलको साथसाथै कोलाको पनि उत्तिकै प्रयोग हुनेगर्छ। 

चाडमा मासुको विभिन्न परिकार अत्यधिक खाइने गरिन्छ। तर धेरै मासु असन्तुलित तरिकाले खाँदा भने मानिसहरु बिभिन्न स्वास्थ्यसेवाबाट पिडित बन्ने गरेका छन। क्षणिक मनोरञ्जन र जिब्रोको स्वादका लागि दीर्घकालीन रोग समेत आइलाग्न सक्छ। चाडबाडको समयमा बिशेष गरि दशैंमा मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ।

हामीले डाक्टर खेमराज भुसाल, कन्सल्टेन्ट फिजिसियनको सल्लाह समेटेर चाडबाडको समयमा सन्तुलित भोजन कसरी लिने, मासुको व्यवस्थापन कसरी गर्ने, सामान्य व्यक्ति र एउटा रोगि व्यक्तिले खानाको सन्तुलन कसरि मिलाउने भन्ने सम्बन्धमा रिपोर्ट तयार गरेका छौं। 


सन्तुलित भोजन भनेको के हो ?
सामान्यतया कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, मिनिरल लगायतका तत्त्व भएका खानालाई व्यवस्थित गरेर खानु नै सन्तुलित भोजन हो। 


सर्वप्रथम त दशैंमा निरोगी पशुको मासु खानु नै रोगबाट बच्ने पहिलो अचुक उपाय हो। मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ। बिशेषगरी खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका, नाकबाट सिँगान बगाएको, झोक्राएको पशुको मासु खानु नै हुँदैन।    

त्यस्तै क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खानु पर्दछ। 

दोस्रो कुरा,निरोगी पशु चौपाया भएपनि पकाउँदा भने बिशेष ख्याल गर्नुपर्ने हुन्छ।  पोलेर, तारेर, बिभिन्न केमिकल मिसाइएका रंगहरु प्रयोग गरेर मासु खाँदा यसले क्यान्सरसम्म लाग्न सक्छ। त्यसैले सकेसम्म राम्रोसंग पकाएर झोलिलो बनाएर मासु खानु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्छ। मासु बढी खाँदा, रेसादार खाद्य वस्तुको प्रयोग बढाउनु ठिक हुन्छ। 

रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक उत्पादन गर्ने हुँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा सकेसम्म रातो मासु र बोसो खानु हुँदैन।   

तेस्रो कुरा,दशैं जस्ता चाडबाडमा घरमा मासुको परिमाण बढी हुनेगर्छ। यस्तो बेला अधिकांश मानिसहरुले एक पटक पकाईसकेपछी पुन: तताएर खाने गर्छन। जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ। पुन: तताएर खाँदा फुड पोइजन हुन सक्ने सम्भावना अत्यधिक हुन्छ। त्यस्तै मसला बढी राखेर तयार गरिएको मासुको परिकार खाँदा पनि यसले ग्यास्ट्रिक बढाउने हुनाले सकेसम्म झोलिलो खानु उचीत हुन्छ।   

त्यस्तै  धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर केमिकल मिसाइ बनाइएका परिकारले क्यान्सर समेत  निम्त्याउन सक्छ। 

मासुको साथमा रक्सि र चुरोट झनै हानिकारक 

साथीभाई आफन्तसंगको भेटघाटमा मासुको साथ साथै रक्सि, चुरोट र सुर्ती खाएर रमाइलो गर्ने चलन नै छ। तर अलग अलग रुपमा भन्दा रक्सि, चुरोट र मासु साथसाथै खाँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुने गर्छ। धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि स्वास्थ्यका लागि यो खतरनाक हुन्छ। 

दशैँमा रक्सिको सेवन सामान्यजस्तै भएपनि युरिक एसिडका बिरामीले त बियर छुनै हुँदैन। बियर मात्र नभई युरिक एसिडका बिरामीले कोक, फेन्टा जस्ता कोला युक्त पेय पदार्थ समेत पिउनु हुँदैन। कलेजोको बिरामीले त झन् अल्कोहल जन्य पदार्थ छुन पनि हुँदैन। बरु दुध दहि खाँदा यसले युरिक एसिड घटाउने काम गर्छ।

रोगि व्यक्तिले बिशेष ध्यान दिनुपर्ने 

रातो तथा बोसो युक्त मासुमा स्याचुरेटेड फ्याट बढी हुने गर्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। रगतको नशा भित्र क्लोस्ट्रोल जम्मा हुँदा हृदयघात, ब्रेनमा आक्रमण समेत हुन सक्ने हुँदा सकेसम्म बढी बोसो भएको मासु नखाँदा नै राम्रो हुन्छ। 

पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरलजस्ता समस्या भएका बिरामीले अझ बढी सचेत हुनुपर्छ। यस्ता रोगिहरुलाई क्लोस्ट्रोलले छिटो आक्रमण गर्ने भएकाले मासु खाँदा बिशेष ध्यान दिनुपर्ने हुन्छ। 

बोसोले ग्यास्ट्रिक लेभल बढाउने गर्छ। बोसोले पेटबाट आन्द्रातिर खाना जाने क्रमलाई ढिलो गराइदिने हुँदा एसिड बढ्छ। जस कारण मुटु पोल्ने, अमिलो पानि आउने हुन्छ।

अन्त्यमा चाडबाडमा मासु खपत सकेसम्म कम गर्दा नै राम्रो हुन्छ। त्यसमा पनि सम्भव हुन्छ माछा र कुखुराको जस्तो सेतो मासु खानु राम्रो हुन्छ। माछालाई झोलिलो बनाएर खाँदा यसले राम्रो क्लोस्ट्रोललाई बढाउने र खराब क्लोस्ट्रोललाई घटाउने गर्दछ।  

 तस्विर: बसन्त हुमागाईं 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved