नेपाल औषधि व्यवस्था बिभागले प्रतिबन्धित औषधि आयातको लागि अनुमति दिएको पाइएको छ। बिभागले अनुमति दिएको कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर (इन्जेक्सन) भारतले नेपाल लगायतका देशमा निर्यातमा प्रतिबन्ध लगाएको भेटिएको छ।
बिभागले शनिबार भारतमा मात्र उत्पादन भएका रेमडेसिभिर ल्याउनलाई नेपालका तीनवटा कम्पनीलाई अनुमति दिएको छ। बिभागले भारतको सिप्ला, माइलन र हटेरो ब्राण्डको रेमडेसिभिर ल्याउनलाई क्रमशस् नेपालका यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई अनुमति दिएको छ।
तर भारतमा मात्र उत्पादन हुने तीनवटा कम्पनीका रेमडेसिभिर भारत बाहेकका अन्य देशमा बिक्रि तथा निर्यात गर्न नपाइने उनिहरुको औषधिको खोलमा उल्लेख छ। सिप्ला, माइलन र हेटेरो कम्पनीबाट ल्याउने भनिएका औषधिको खोलमा ‘फर युज इन इन्डिया अन्ली, नट फर एक्सपर्ट’ उल्लेख छ।
कमिशनको आशंका
कमिशनको खेलका कारण भारतले निर्यातमा प्रतिबन्ध लगाएको औषधि ल्याउनलाई नै नेपालका ३ ब्यापारीका कम्पनीलाई अनुमती दिईएको आशंका गरिएको छ।
सिप्लाको लागि नेपालको आधिकारिक बिक्रेता यती फर्मा यति समुह, माइलनको लागि नेपालको आधिकारिक बिक्रेता सिनर्जी ओभर्सिस ब्यापारी दिपक मलहोत्रा र हिटेरोको नेपालका लागि आधिकारिक बिक्रेता भियोभिस लाइभ साइन्सेस सुशान्त मुरारका र विजय अग्रवाल संलग्न कम्पनी भएको खुल्न आएको छ।
यहि औषधि बंगालदेशबाट ल्याउन प्रतिबन्ध नभएको र सस्तो पनि भएको तर बंगलादेशबाट ल्याउछु भन्ने कम्पनीलाई अनुमति नदिइएकाले कमिसनको खेलको आशंका मजबुत बनेको छ। निर्यात अनुमतिका लागि विश्व व्यापार संघ (डब्लूटीओ) ले सूचीकृत गरेका मुलुकमा बंगलादेश छ तर भारत उल्लेख छैन।
सस्तोमा ल्याउँछु भन्नेलाई अनुमति दीइएन
औषधि व्यवस्था बिभागले भारत भन्दा पनि संस्तो पर्ने गरि बंगलादेशबाट ल्याउँछु भन्ने कम्पनीलाई अनुमति नदिएको पाइएको छ। सम्पूर्ण कागजात र मापदण्ड पुरा गर्दा पनि बिभागले कागज मिलेर भनेर अनुमति नदिएको लाइसेन्सका लागि अनुमतिको पर्खाईमा रहेका कम्पनीका एक प्रतिनिधिले बिजपाटीलाई बताएका छन्।
'तीन महिनासम्म प्रकृयाको नाममा अल्झाएर बिभागले दुख दियो, कहिले यो मिलेर कहिले त्यो कागजात मिलेन भनेर तीन महिना झुलायो तर अन्तिममा हाम्रो भन्दा महँगो मुल्यमा ल्याउनलाई ब्यापारीका कम्पनीलाई अनुमति दिईयो' ति व्यक्तिले भने।
भारतभन्दा सस्तो मुल्यमा ल्याउँछु भनेर आयान, मेडिकन्स, मेडिसेल्स, ओइज इन्टरनेसनल, इमेराल्ड, ओरियन लगायतका ११ कम्पनीले अनुमतिका लागि आबेदन दिएका छन्। भदौ १ गतेसम्म पनि ती कम्पनीहरुले दिएको आबेदनमा कुनै सुनुवाई भएको छैन।
भारतीय ब्राण्ड ल्याउने भनेर कालोबजारीको बाटो खुलाईयो
भारतका कम्पनी नै तोकेर रेमडेसिभिर ल्याउनलाई अनुमती दिएको देखाएर बिभागले कालोबजारीको बाटो सहज बनाएको आरोप लगाइएको छ। स्रोतकाअनुसार भारतीय कम्पनीका रेमडेसिभिर भारतीय भन्सारमै रोकिने सम्भावना भएकाले प्रक्रियागत तरिकाबाट ल्याउन तोकिएको अर्थात ७२ घण्टा भन्दा बढी समय लाग्ने र त्यो समयमा कालोबजारी गरि भारु ४००० मा पर्ने रेमडेसिभिर नेपालमा लाख डेढ लाखमा बेच्न पाइने माहोल बनाइएको छ।
अनुमती पाएका तीनवटा कम्पनीले रेमडेसिभिर ल्याउन थप हप्ता दश दिन लाग्ने भएकाले त्यहिअनुसार व्यवस्था गरिदिन बिभागका महानिर्देशक नारायण ढकाललाई भनेको बिभागकै एक कर्मचारीले बिजपाटीलाई बताए।
एकातर्फ भारतबाट ल्याउनलाई ढिला गर्ने र अर्कोतर्फ ल्याएहाले पनि उक्त रेमडेसिभिर परिक्षणका लागि मात्रै प्रयोग हुने भएकाले बजारमा कोरोना संक्रमित बढ्दै गर्दा कालोबजारबाटै रेमडेसिभिर बिक्रि हुने अवस्था आउने बिभागका ति कर्मचारीको भनाई छ।
नेपाल ल्याउँदा कानुनी बाटोबाट ल्याएको देखाउने तर नेपाल भित्रीपछि परिक्षणको लागि भनेर बजारमा बिक्रि नगर्ने तर सेटिंङमा महँगोमा रेमडेसिभिर बिक्रि गर्ने योजना रहेको ती कर्मचारीको दावी छ।
अध्ययन गर्दैछौं
बिभागका प्रवक्ता सन्तोष केसीले भारतले निर्यातमा प्रतिबन्ध लगाएको रेमडेसिभिर नै आयात गर्न अनुमति दिईएको भन्नेबारे पत्रपत्रिकामा पढेपनि आफुलाई यस बिषयमा ठोस कुरा थाहा नभएको बताएका छन्।
'आयातका लागि अनुमति पाएका कम्पनीहरुले उतैको आधिकारिक निकायसँग अनुमति लिएका होलान् ‘तर त्यसबारे मलाई केही जानकारी भएन’ उनले भने।
के हो रेमडेसिभिर ?
रेमडेसिभिर सन २००९ मा इबोला बिरुद्द प्रयोग भएको औषधि हो। त्यो बेला यो औषधिले राम्रो प्रतिकृया दिएको मानियो। कोरोना संक्रमितको उपचारमा यसको प्रयोगले राम्रो नतिजा दिएकाले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले क्लिनिकल ट्रायलका लागि अनुमति दिएको हो।
यो औषधिले कोरोना संक्रमितको रिकभरी अवधि छोट्याएको अध्ययनले देखाएको छ। अमेरिकाले मात्र नभई अष्ट्रेलिया, इंग्ल्याण्ड, बंगलादेश, भारत, कोरिया लगायतका देशहरुले कोरोना संक्रमितको उपचारमा यसको प्रयोगमा अनुमति दिएका छन्।
रेमडेसिभिर आधिकारिक रूपमा अमेरिकाको जिलिड फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि हो। अमेरिकाको उक्त कम्पनीले भारतका ५ वटा कम्पनीलाई मात्र रेमडेसिभिर उत्पादनको अनुमति दिएको छ। जस मध्ये नेपालमा ल्याउन भनिएका ३ वटा कम्पनी सिप्ला, माइलन र हटेरो पनि हुन्।
तर बंगालदेशका औषधि उत्पादक कम्पनीहरुले जेनेरिक रुपमा रेमडेसिभिर उत्पादन गर्दै आएका छन्। त्यसैले त्यहाँ उत्पादन गरिएका रेमडेसिभिर नेपाल ल्याउन प्रतिबन्ध छैन भने भारतमा उत्पादन भएका भन्दा पनि सस्ता छन्।
नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका (इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड–१९) मा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन मिल्ने उल्लेख छ । यहि प्रावधानअनुसार नेपालका चिकित्सकहरुले नेपालमा कोरोना संक्रमितको उपचारमा अस्पताल र संक्रमितको निगरानीमा रेमडेसिभिर प्रयोग गर्दै आएका छन्। तर औषधि व्यवस्था बिभागले रेमडेसिभिर को उपलब्धता सहज नबनाईदिएको कारणले भारतमा ४ हजारमा पर्ने रेमडेसिभिरलाई लाख डेढ लाख तिरेर प्रयोग गर्न बाध्य छन्।