नेपाल ल्याइँदै चीनले बनाएको कोरोनाको खोप

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 26, 2020 | 01:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले बनाएको कोभिड–१९ (कोरोना भाइरस) को खोपको नेपालमा पनि परीक्षण गर्नेबारे अध्ययन सुरु भएको छ । चीनले बनाएर परीक्षणको तेस्रो चरणमा रहेको खोपको नेपालमा पनि परीक्षण गर्ने विषयमा छलफल सुरु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

‘अहिले प्रारम्भिक चरणमा छलफल हुँदैछ’ परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले भने, ‘परीक्षणको अनुमति दिने विषयमा सरोकारवालासँग छलफल भईरहेको छ, उहाँहरुले परीक्षणको अनुमति माग गरेकाले अनुमति दिने वा नदिने भन्नेमा नै छलफल केन्द्रित छ ।’

५ सय जनामा परीक्षणको प्रस्ताव

चीनको सिनो भ्याक कम्पनीले बनाएको यो खोपको नेपालमा ५ सय जनामा परीक्षणको अनुमति माग गरिएको छ । नेपालस्थित चिनियाँ दुतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै स्वास्थ्य मन्त्रालयमा आएको उक्त प्रस्तावमा नेपालमा रहेका चिनियाँ नागरिकमा परीक्षण गराउने अनुमति माग गरिएको छ । 

सो प्रस्तावमा नेपाली र चिनियाँ उद्योगीको संयुक्त लगानी रहेको एक सिमेन्ट उद्योगमा कार्यरत चिनियाँ कामदारहरुमा उक्त खोपको परीक्षण गराउने अनुमति माग गरिएको जानकारी आएको परिषद्ले जनाएको छ । 

‘एउटा सिमेन्ट कम्पनीमा कार्यरत चिनियाँ मजदूरमा परीक्षण गराउने भनेर दूतावासमार्फत नै प्रस्ताव आएको रहेछ’ परिषद्का सदस्य सचिव डा. ज्ञवालीले थपे, ‘छलफलकै चरणमा रहेका कारण प्रोटोकल तयार भइसकेको छैन, अनुमति पाएपछि मापदण्ड अनुसार परीक्षण गर्ने बाटो खुल्नेछ ।’

हजार भाइल औषधि ल्याउने तयारी

चिनियाँ दूतावासले गत हप्ता नै परराष्ट्र मन्त्रालयमार्फत गरेको सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले चासो देखाएपछि छलफल अघि बढेको हो । अहिले पनि स्वास्थ्य र परराष्ट्र मन्त्रालयसहित स्वास्थ्य अनुसन्धान परिषद्बीच यसबारे छलफल भईरहेको परिषद्ले जनाएको छ । 

औषधि तथा खोपको परीक्षणको नियमन गर्ने निकाय भएकाले परिषद्ले यसमा अग्रणी भूमीका निर्वाह गर्नुपर्ने भएकाले सो अनुसार नै आफूहरु तयारीमा जुटेको परिषद्को भनाई छ । 

‘चीनमा २० औँ हजार मानिसमा परीक्षण भईसकेको खोप हो यो’ सदस्य सचिव डा. ज्ञवालीले भने, ‘नेपालमा पनि ५ सय जनामा परीक्षणका लागि १ हजार भाइल पठाउँछौँ भनेर प्रस्ताव आएको छ ।’

तेस्रो चरणको परीक्षण देशभित्रै फरकफरक क्षेत्र अथवा देश बाहिर पनि परीक्षण हुने भएकाले सोही अनुसार चीनले नेपालमा पनि परीक्षणको प्रस्ताव पठाएको हो ।

होङ्सीका मजदूरमा परीक्षणको प्रस्ताव

चिनियाँ र नेपालीको संयुक्त लगानी रहेको होङ्सी सिमेन्टमा २ सय बढी चिनियाँ कामदार छन् । यीनै कामदारमा परीक्षणको लागि प्रस्ताव आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नवलपरासीमा उद्योग रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँ कामदारहरुमा खोपको परीक्षण गर्ने प्रस्ताव आएको मन्त्रालयका एक अधिकारीले जनाएका छन् । 

होङ्सी सिमेन्टका निर्देशकसमेत रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष सतीष मोरका अनुसार चिनियाँ खोपको नेपालमा रहेका चिनियाँ नागरिकमा नै परीक्षण गर्ने प्रस्ताव आएको जानकारी भएपनि होङ्सी शिवम् सिमेन्टमा नै कार्यरत चिनियाँ नागरिकमा हो वा अरु पनि हुनसक्छन् भन्नेबारे छलफल जारी नै छ ।

परिषद्का सदस्य सचिव डा. ज्ञवालीले पनि कागजी प्रक्रिया पूरा गरेपछि मात्रै खोप आउने भएकाले अहिले नै सबै प्रक्रिया सकियो भन्न नमिल्ने बताएका छन् । चीनले ५ सय जनामा परीक्षणको प्रस्ताव गरेका कारण आधा नेपाली र आधा चिनियाँ पनि हुन सक्ने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved