स्यानीटाईजरमा पनि स्वदेशी उद्योगलाई सिध्याउने खेल, नेपाललाई २६ करोड घाटा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 28, 2020 | 05:13:52 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी उद्योग तथा व्यवसायीको संरक्षण तथा प्रवर्द्धन गर्ने जिम्मेवारी राज्यको हुन्छ। तर हाम्रो देश नेपालमा भने सकेसम्म बिदेशी बस्तु तथा सेवालाई संरक्षण गर्ने र स्वदेशी उद्योग व्यवसायीलाई धरासायी नै बनाउनलाई नीति निर्माण हुने गरेको दृष्टान्त छ।

पछिल्लो समय यस्तै आभास नेपालको औषधि व्यवस्था बिभागमा देखिएको छ। विश्वले नै अपेक्षा नगरेको कोभिड १९ को सुरुवाती दिनमा जीवन बचाउनु पहिलो प्राथमिकता भएर नेपालले पनि स्यानिटाईजरको गुणस्तरमा कुनै नीति नियम बनाईएन। 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साबुन पानिले हात धुनुपर्ने र बेला बेलामा स्यानिटाईर लाउनुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशन नै भएकाले सुरुवाती दिनमा नेपालले पनि चीन भारत लगायतका देशबाट स्यानिटाईर आयातमा कडाई गरेन। तर अवस्था विस्तारै सामान्य हुँदै जाँदा नेपाल भित्रै थुप्रै कम्पनी स्थापना भई बिभागले तोकेको गुणस्तर तथा मापदण्ड भित्र रहेर स्यानिटाईर उत्पादन भईरहेका छन्। 

राज्यको भूमिका भनेको निश्चित मापदण्ड बनाएर स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाउने र स्वदेशी उद्योगलाई संरक्षण गर्ने हो। तर अन्य क्षेत्रमा झैं स्यानीटाईजरमा पनि स्वदेशी उद्योगलाई सिध्याउने खेलमा बिभाग लागेको देखिन्छ। यो सबैको जिम्मेवारी पाएको औषधि व्यवस्था बिभागले केही हप्ता अघिबाट स्यानिटाइजरको गुणस्तर परीक्षण थालेको छ। तर स्वदेशी व्यवसायीको माग विपरित २०७७ साल असार पछि विदेशी उत्पादन ल्याउन थप ३ महिना दिएको छ।  अवधि थप गरेर बिदेशी उत्पादन ल्याउनुलाई स्वदेशी उत्पादनलाई सिध्याउने नियत रहेको व्यवसायीहरुको आरोप छ।

नेपालका औषधि उद्योगीहरुले यसको विरोध गरेपनि विभागले असोजसम्म विदेशी कम्पनीलाई आउन दिने निर्णय सच्याएन । नेपाल औषधि उत्पादक संघले २०७७ साल असार २५ गते नै विभागमा निवेदन दिएर गुणस्तरहीन स्यानिटाइजरको आयात रोक्न माग गरेको थियो । विभागले स्यानिटाइजरको गुणस्तर सुनिश्चित गर्न कुनै काम नगरेको भन्दै संघले त्यतिबेला नै उठाएको यो विषयमा विभागले असोजमा आएर बल्ल परीक्षण थालेको छ ।

औषधि उत्पादक संघले दिएको निवेदन


लिखित निवेदनको सुनुवाई नभएपछि संघले आन्दोलन नै गरेको थियो। आन्दोलन पछि भने स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा एउटा समिति बनाएको थियो । विभाग र नेपाल औषधि उत्पादक संघसँगको छलफलपछि सम्झौता पनि भएको थियो ।

मन्त्रालयको तर्फबाट डा. देवकोटा, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र औषधि उत्पादक संघका अध्यक्ष जी. नारायण बहादुर क्षेत्रीले हस्ताक्षर गरेर सम्झौता मन्त्रालयमा पठाएका थिए ।

सम्झौताको बुँदा नम्बर २ मा ‘नेपाल सरकार (मन्त्रीस्तर) को २०७७/३/२२ को निर्णयअनुसार स्यानिटाइजरको दर्ताको लागि ३ (तीन) महिना म्याद थप गरिएकोमा आयात प्रयोजनका लागि लेटर अफ क्रेडिट (L/C) खोलिसकेको र आउने क्रम (pipeline) मा रहेकाको हकमा साविक बमोजिम र अन्यलाई उत्पादनहरुको गुणस्तर मापदण्डका आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने’ भनिएको छ ।

सम्झौता


जनस्वास्थ्यमा असर

नेपालका औषधि उत्पादकहरुले विदेशबाट आयात गरिएका स्यानिटाइजरमा विषाक्त रसायन मिनाथल हुने र यसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै आएका थिए । उनीहरुले मिनाथल मिसावट भए नभएको यकिन गर्न परीक्षण गर्नुपर्ने भन्दै विभागलाई पटकपटक ध्यानाकर्षण पनि गराएका थिए । तर, विभागले कुनै परीक्षण नै गरेको थिएन। 

बल्ल आएर विभागले मिथानल मिसावट भए नभएको परीक्षण गर्न थालेको छ । परीक्षणका क्रममा हालसम्म १८ वटा कम्पनीका स्यानिटाइजरमा मिनाथल भेटिएको छ । मिनाथल भेटिएपछि विभागले बिक्रि वितरणमा भने रोक लगाएको छ। बिक्रि वितरणमा रोक लगाएपनि बजारमा अहिलेपनि भारतको आरएल कोर्पको पाम्केयर लगायतका मिथानल युक्त स्यानीटाइजर खुलेआम बिक्रि वितरण भईरहेका छन्।

१८ कम्पनीको सूची



‘हामीले ४ महिना अगाडी नै मिथानल मिसिएको स्यानिटाइजर आएको छ, यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ भनेका थियौँ, तर विभाग कानमा तेल हालेर बस्यो’ एक जना उद्योगीले भने, ‘अहिले आएर बल्ल मिनाथल छुट्याउने मेसिन ल्याएर परीक्षण गर्न थालिएछ ।

अहिले कारबाहीमा परेका कम्पनीले उत्पादन गरेका स्यानिटाइजर यत्तिका महिनासम्म प्रयोग भए, तिनको प्रयोग गर्दा उपभोक्ताको स्वास्थ्यमा परेको असरको जिम्मा कसले लिने ?’ उनीहरुले हालसम्मको सबै जिम्मा विभागका महानिर्देशक नारायण ढकालले लिनुपर्ने बताएका छन् ।

२६ करोडको ब्यापार घाटा

नेपालका ४० वटा औषधि उद्योगले आफूहरु पर्याप्त स्यानिटाइजर दिन सक्ने भन्दाभन्दै पनि स्यानिटाइजरको आयात नरोकिँदा २ महिनामा मात्रै २६ करोडको ब्यापार घाटा भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन र भदौमा मात्रै २६ करोड ४८ लाख २५ हजार रुपैयाँको स्यानिटाइजर आयात भएको छ ।

चीनबाट ५ करोड ८३ लाख २६ हजार, भारतबाट १८ करोड ३५ लाख ९२ हजार र जापान, कोरिया लगायत अन्य देशबाट २ करोड ३१ लाख ८ हजारको स्यानिटाइजर आयात भएको छ । यी देशबाट ७ लाख १ हजार ३ सय ८१ किलो स्यानिटाइजर आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved