कोभिड बिरामीको उपचारबाट हात झिक्दै निजी अस्पताल, कहाँ चुके उपप्रधानमन्त्री पोखरेल ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2021 | 01:05:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको दोस्रो लहर तीव्र भएपछि निजी अस्पतालहरु आत्तिएका छन् । अन्तराष्ट्रिय स्तरका भनिने अस्पतालहरु क्रमशः अब कोभिडका बिरामी भर्ना लिन नसक्ने भन्दै पन्छिँदै छन् । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन) ले नागरिकको जीवन रक्षा हुने गरी सरकारले कुनै योजना नबनाएको बताउँदै आएको छ ।

नेपाल चिकित्सक संघले पनि कोरोनाका कारण गम्भीर अवस्था सिर्जना भईसकेको निष्कर्ष निकाल्दै देशभर ‘रेड अलर्ट’ को घोषणा गरेको छ । दिनदिनै बढिरहेका कोरोना संक्रमितको संख्यालाई हाल भएको नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने संघको भनाई छ । 

निजी अस्पताल किन पन्छिँदै छन् ?

निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले उपचार गर्न सक्दैनौँ भन्नुको पछाडी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यक्षमता नै मुख्य जिम्मेवार रहेको अस्तालहरु बताउँछन् । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीले कोठाभित्र बसेर योजना बनाउँदा अस्पतालहरुले अक्सिजन पाउन नसकेकाले अहिले आफूहरु पछि हट्न बाध्य हुनु परेको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहको भनाई छ ।

‘नर्भिकसँग आफ्नै प्लान्ट छ, हामी दैनिक ३८ सिलिण्डर अक्सिजन उत्पादन गर्छौ’ सिंह भन्छन्, ‘तर, अहिले सबै कोभिडका बिरामी भर्ना भएका छन्, उनीहरु सबैलाई अक्सिजन चाहिन्छ । हाम्रो उत्पादनले पुग्दैन, ५०० प्रतिशत डिमाण्ड बढेको छ, सप्लाई १०० प्रतिशत मात्रै छ ।’

ओम हस्पिटलका प्रवन्ध निर्देशक बाबुकाजी कार्की प्लान्टहरुमा सिलिण्डर रोटेशन हुन नसक्दा अहिलेको अवस्थामा पुग्न बाध्य हुनु परेको बताउँछन् । अक्सिजनको माग र आपुर्तिको ‘मिस म्याच’ हुँदा निजी अस्पतालले कोभिडका बिरामी लिनै नसक्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।

काठमाडौँ उपत्यकामा रहेका ८ वटा अक्सिजन प्लान्टहरु पूर्ण क्षमतामा चल्न नसकेको र बजारमा सिलिण्डरको अभाव हुँदा अस्पतालमा आउनुपर्ने अक्सिजन पनि आउन नसक्दा बचाउन सकिने बिरामी पनि बचाउन नसक्ने भएकाले आफूहरु कोभिडका बिरामीको भर्ना नलिने मनस्थितीमा पुगेको ओमका कार्यकारी निर्देशक कार्कीको गुनासो छ ।

उपप्रधानमन्त्री पोखरेल कहाँ चुके ?

निजी अस्पताल आफैँले अक्सिजन उत्पादक कम्पनीमार्फत अक्सिजन ल्याएर उपचार गरिरहेको अवस्थामा सीसीएमसीले कोटा तोकिदिएका कारण पनि समस्या सिर्जना भएको नर्भिकका कार्यकारी निर्देशक सिंहको भनाई छ । 

‘कोटा तोकेर झन साह्रो समस्या बनाईदिएको छ, हिजो नर्भिकले २०० सिलिण्डर पाउने भनिएको थियो, लिन जाँदा ३० वटा मात्रै पाईयो’ उनले भने, ‘हरेक अस्पतालले कोभिडका बिरामी भर्ना गरेका छन्, हरेक अस्पताललाई अक्सिजन चाहिएको छ । सीसीएमसी भन्ने काम नगर्ने संयन्त्र बनाएको छ, कोठामा बसेर निर्णय गर्छ । कार्यान्वयन भए नभएको फिल्डमा गएर अनुगमन गर्नु छैन ।’

सिंह थप्छन्, ‘काठमाडौँमा जम्मा ८ वटा प्लान्ट छन्, सीसीएमसीका कोही पनि मान्छे प्लान्टमै गएर हेरेका छैनन्, प्रहरीको भए हवलदार र असईलाई पठाएको छ, सेनाको भए जमदारसम्म गएका छन् । मन्त्रीहरु जानुपर्यो, सेना प्रहरीका उच्च अधिकारीहरु जानुपर्यो ।’

उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीले कोभिडको दोस्रो लहर भारतमा सुरु हुनासाथ नै नेपालका अक्सिजन उत्पादकहरुलाई बोलाएर छलफल गरेर विश्वासमा लिन सक्नुपर्नेमा उत्पादकहरुसँग सीसीएमसीले कुनै छलफल नै नगरी कोठामा बसेर निर्णय गर्दा अहिलेको अवस्था भोग्न बाध्य हुनुपरेको सिंहको आक्रोश छ ।

यो पनिः
चिकित्सक संघद्वारा नेपालभर ‘रेड अलर्ट’ घोषणा, अवस्था भयावह बनेको निष्कर्ष

‘अक्सिजन उत्पादकहरुलाई बोलाएर सरकारले यो सहयोग गर्छ, यी उपकरण उपलब्ध गराउँछ, पूरै क्षमतामा उत्पादन गर्नुहोस्, त्यसका लागि चाहिने सहयोग सरकारले गर्छ भनेर पहिल्यै विश्वासमा लिनुपर्थ्यो’ सिंह भन्छन्, ‘आफैँ अक्सिजन उत्पादन गरिरहेका निजी अस्पतालको समस्या के छ, के गर्दा समाधान हुन्छ भन्ने कहिल्यै सोधिएन । साँच्चै भन्ने हो भने सरकारले निजी क्षेत्रबाट चलेका अस्पतालहरु पनि हाम्रै अस्पताल हुन् भन्ने कुरा स्वास्थ्य मन्त्रालय, सीसीएमसी कसैले सोचेनन् ।’

कति छन् कम्पनी ?

काठमाडौँमा अक्सिजन उत्पादन गर्ने कम्पनी ८ वटा छन् । कान्तिपूर अक्सिजन प्रा.ली., सगरमाथा अक्सिजन प्रा.ली., नवज्योति अक्सिजन प्रा.ली, सीता प्रोडक्टस प्रा.ली., सोपान अक्सिजन प्रा.ली., शंकर अक्सिजन प्रा.ली., हिमाल अक्सिजन प्रा.ली. र हाम्रो अक्सिजन प्रा.ली. काठमाडौँमा भएका अक्सिजन उत्पादन गर्ने कम्पनीहरु हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved