एउटा अक्सिजन प्लान्ट राख्न कति लाग्छ खर्च र समय ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2021 | 02:00:40 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयको सिफारिसमा बैशाख २९ गते कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सय शैया सम्मका अस्पताललाई अक्सिजन प्लान्ट राख्न निर्देशन दिने निर्णय गर्यो । १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न सरकारले दिएको निर्देशन ‘हावादारी’ भएको निजी अस्पतालहरुले बताईसकेका छन् ।

एसोसियसन अफ प्राइभेट हेल्थ इंस्टिच्युसन अफ नेपाल (अफिन) ले सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्लान्ट राख्न नसक्ने जनाएको हो । 

प्लान्ट राख्न खर्च कति ?

अफिनले सरकारले भनेको सय शैयाका अस्पतालले अहिले नै अक्सिजन प्लान्ट राख्न लगानी जुटाउन नसक्ने अवस्था रहेको बताएको छ । सय बेडका अस्पतालले अक्सिजन प्लान्ट राख्न कम्तीमा पनि २ करोड ५० लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको र अहिले सबै अस्पतालले त्यो खर्च जुटाउन नसक्ने एसोसियसन अफ प्राइभेट हेल्थ इंस्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्त कुमार चौधरी बताउँछन् ।

‘सय शैयाका अस्पतालले राख्ने प्लान्टको मूल्य कम्तीमा २ करोड रुपैयाँ पर्छ’ चौधरी भन्छन्, ‘२ करोड तिरेर बाहिरबाट ल्याएपछि पनि त्यसलाई जडान गर्न अर्को ५० लाख लाग्छ । एकैपटक २ करोड ५० लाख रुपैयाँ लगानी थप्न सक्ने अस्पताल कमै छन् ।’

१२० दिन लाग्ने काम १५ दिनका कसरी सक्नु ?

अक्सिजन प्लान्ट सुरुमा अर्डर गर्नुपर्ने र उत्पादकले ३ महिना नभई बनाएर दिन नसक्ने नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीको भनाई छ । अहिले अन्तराष्ट्रिय हवाई उडान बन्द रहेकाले तत्काल नेपाल ल्याउन सम्भव नहुने भएकाले सरकारले दिएको समय निकै कम भएको उनको भनाई छ । अफिनले बिहिबार जारी गरेको विज्ञप्तिमा पनि ‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन’ भनेर सरकारको निर्देशनको आलोचना गरिएको थियो ।

यही भनाईलाई सदर गर्दै चौधरी भन्छन्, ‘खरिद सम्झौता भएको ३ महिनाभन्दा अगाडी कुनैपनि उद्योगले प्लान्ट तयार गरिदन सक्दैनन्, खरिद सम्झौताको पनि आफ्नै प्रक्रिया छ, सम्झौताको ३ महिनामा बल्ल तयार हुन्छ, फेरि त्यसलाई ल्याउनुपर्यो । ल्याएपछि पनि जडान गर्न गर्न कम्तीमा १५ दिन लाग्छ । जति छिटो राख्छु भन्दा पनि १२० दिन लाग्छ । अनि १५ दिनमा कसरी सकिन्छ ।’

‘खर्च कति लाग्ने हो ? नेपालमा के के उपकरण पाइन्छन् ? बाहिरबाट के के ल्याउनुपर्ने हो ? जस्ता कुरा सोच्दै नसोची एकतर्फी रुपमा दिईएको निर्देशन अहिले पालना हुँदै नसक्दैन’ नर्भिक हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह भन्छन्, ‘निर्देशन अनुसार काम नगर्ने भन्ने होइन, तर यसका लागि सरकारको पनि सहयोग चाहिन्छ । सरकारको तर्फबाट यो यो सहयोग गर्छौ भनेर खोई भनेको ?’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved