महामारीमा १३ हजार डाक्टर सम्पर्कबिहिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 01:30:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारीका कारण चिकित्सकलाई भ्याई नभ्याई छ । उनीहरुले परिवारलाई समय दिनसमेत भ्याएका छैनन् । तर, के सबै डाक्टरहरु कोभिड विरुद्दको अभियानमै छन् त ? अहिले यो प्रश्न उब्जिएको छ ।

यति मात्रै नभई नेपालको चिकित्सकीय जनशक्ति कति छ भन्ने पनि खोजीको विषय बनेको छ । नर्स तथा डाक्टरहरुको अहिलेको खटाईले सबैको मन जितिरहेका बेला मूलुकका कुल डाक्टरमध्ये आधा डाक्टर निष्क्रिय रहेको अनुमान पनि हुन थालेका छन् ।

१३ हजार डाक्टर सम्पर्क बिहिन 

डाक्टरहरु नेपाल मेडिकल काउन्सिलमा अनिवार्य दर्ता हुनुपर्छ । हालसम्म काउन्सिलमा २९ हजार डाक्टर दर्ता छन् । यीमध्ये १६ हजार डाक्टर मात्रै नियमित रुपमा सक्रिय रहेको काउन्सिलको अनुमान छ । 

काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीले दर्ता भएका २९ हजार डाक्टरमध्ये १६ हजार डाक्टरमात्रै सक्रिय रहेको र बाँकी १३ हजार डाक्टर सक्रिय नरहेको पाईएको बताएका छन् । उनीहरु काउन्सिलको सम्पर्कमा पनि नरहेको डा. अधिकारीको भनाई छ ।

१३ हजार डाक्टर निष्क्रिय रहेको कसरी थाहा भयो ?

नेपाल टेलिकमले डाक्टरहरुलाई एक महिने निःशुल्क भ्वाईस प्याक उपलब्ध गराएको थियो । तर, यो सुविधा १६ हजार डाक्टरले मात्रै लिएको पाईएको काउन्सिलका रजिष्टार डा. अधिकारीको भनाई छ । १६ हजारले मात्रै निःशुल्क भ्वाईस प्याक सेवा लिएपछि बाँकी डाक्टरहरु कता के गर्दैछन् भन्ने प्रश्न उब्जिएको उनले बताए ।

अब काउन्सिलले नियमित काममा रहेका डाक्टरहरुको संख्या अद्यावधिक गर्ने उनले जानकारी पनि दिए । 

‘टेलिकमको सुविधा १६ हजार डाक्टरले मात्र उपभोग गर्नुले दर्तावाला अरु डाक्टर निष्क्रिय रहेको अनुमान लगाउन सकिन्छ’ स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा डा. अधिकारीले भने, ‘काउन्सिलमा दर्ता हुनु भएका डाक्टरहरु कोही विदेश जानु भयो होला, कोही डाक्टरी पेशा छोडेर बस्नु भएको होला, कतिको निधन पनि भईसकेको होला । अब हामी क्रियाशील डाक्टरहरुको संख्या अध्यावधिक गर्दैछौँ ।’

सफ्टवेयर बनाउँदै काउन्सिल

डाक्टरहरुको संख्या अध्यावधिक गर्न काउन्सिलले सफ्टवेयर बनाउने भएको छ । डाक्टरहरुको यकिन तथ्यांक भएपछि योजना बनाउन पनि सहयोग हुने र आवश्यक सेवा सुविधाको विषयमा निर्णय गर्न पनि सहज हुने भएकाले छुट्टै सफ्टवेयर नै बनाएर यकिन तथ्यांक राख्न लागिएको काउन्सिलले जनाएको छ । 

‘हामीसँग डाक्टरहरुको यकिन तथ्यांक नहुँदाको अनुभव हामीले कोभिडको महामारीमा भोग्यौँ’ काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारी भन्छन्, ‘बिरामीको उपचारका लागि डाक्टरहरु आवश्यक परेको छ, आउनुहोस् भनेर माग गरियो तर काउन्सिलमा दर्ता भएका सबै डाक्टरहरु सम्पर्कमा आउनुभएन ।’

नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १३ मा कुनै दर्तावाल डाक्टरले पेशा छाडेमा वा आफ्नो ठेगाना बदलेमा एक महिनाभित्र रजिष्ट्रारलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved