निर्णय भएको ४ वर्ष बित्दा पनि रोकिएन विदेशी औषधिको दबदबा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 01:16:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मूलुकको माग धान्ने गरी उत्पादन हुने औषधि पनि विदेशबाट आयात भईरहेका छन् । आफ्नै देशमा बन्ने औषधिको आयात रोक्ने निर्णय २०७४ जेठमै भएपनि अहिलेसम्म धमाधम विदेशमा उत्पादित औषधिहरु आयात भईरहेका छन् ।

नेपालका औषधि उत्पादक उद्योगीहरुले विभिन्न ३० थरीका औषधि विदेशबाट ल्याउन नपर्ने र आन्तरिक उत्पादनले नै माग धान्ने बताईरहेका छन् । २०७४ जेठ ३० गते औषधि व्यवस्था विभागले पनि यो स्वीकार गरेर ३० थरीका औषधिको आयात रोक्ने र कच्चा पदार्थ मात्रै आयात गर्ने भनेको थियो । 

स्वास्थ्य मन्त्रालयमा यो निर्णय कार्यान्वयनका लागि कार्यतालिका नै बनेको थियो । कार्यतालिका अनुसार २०७४ असार मसान्तबाट नेपाल आत्मनिर्भर रहेका ३० प्रकृतिका औषधिको आयात रोक्ने भन्ने थियो । तर, अहिलेसम्म पनि यो कार्यतालिका कार्यान्वयन भएको छैन ।

मन्त्रालयले कार्यतालिका बमोजिम काम गर्न त्यतिबेला नै औषधि व्यवस्था विभागमा पत्र पठाएको भएपनि विभागले हालसम्म कार्यतालिका कार्यान्वयन नगर्दा भारत सहितका विभिन्न देशबाट नेपाल आत्मनिर्भर भएका औषधिहरु आयात भइरहेका छन् । 

औषधि व्यवस्था विभागले त्यतिबेला निर्णय कार्यान्वयनका लागि बनेको कार्यतालिका उलङ्घन गरेको हो वा उच्च निर्देशनमै यो काम रोकिएको हो भन्ने विषयमा बिजपाटीले थप खोजी जारी राखेको छ ।

यी हुन् आत्मनिर्भर भएका औषधि 

मूलुकमा ३० थरीका औषधिमा आत्मनिर्भर छ भन्ने विषय उद्योगीहरुले मात्रै औषधि व्यवस्था विभागले पनि स्वीकार गरिसकेको विषय हो । औषधि उत्पादक संघले गत वर्ष स्यानिटाइजर आयातका विषयमा आन्दोलन गर्दा पनि यो विषय उठेको थियो ।

औषधि उत्पादक संघका अनुसार अल्बेन्डाजोल, एमोक्सासिलिन एजिथ्रोमाइकीन, ट्रीमेथोरपीम प्लस सल्फामेथोजाजोल, मेट्रोनीडाजोल, एन्टासिड, ओमेप्राजोल, पेन्टाप्राजोल, रेनीटेडीन र पारासिटामोलमा नेपाल आत्मनिर्भर छ । सेट्रेजीन, इन्डोमेथासीन, टीनिडाजोल, अल्वेन्डाजोल, विभिन्न खाले मलमहरु, अक्सीक्लोनजाइड भेट, लेभामीजोल भेट, कालामाइन लोसन, क्याल्सियम कार्बोनेट, जेन्सन भ्वाइलेट, निमो सुलाइड, ट्रामाजोल, साइप्रो हेप्टाडिनमा पनि नेपाल आत्मनिर्भर छ ।

तर, यी औषधि पनि आयात भईरहेका छन् । 

दैनिक १ करोड ४० लाखको आयात

औषधिसँग सम्बन्धित निकायले कति मूल्य बराबरका औषधि आयात हुन्छ भन्ने तथ्यांक पनि राखेका छैनन् । औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय भन्सार विभागमा मात्रै यस्तो तथ्यांक हुने बताउँछन् ।

भन्सार विभागको तथ्यांक अनुसार नेपाली उद्योगीहरुले भने अनुसार नै दैनिक १ करोड ४० लाख मूल्य बराबरको औषधि आयात भएको देखिन्छ । यो तथ्यांकका आधारमा वर्षमा ५ अर्ब ११ करोडको औषधि आयात हुने गरेको छ ।

यदि, आत्मनिर्भर भएका औषधिको आयात रोक्ने हो भने औषधि खरिदमा वार्षिक रुपमा बाहिरिने ५ अर्ब रकम आधाले घट्ने उद्योगीहरुको दाबी छ । 

हाल मुलुकभर ५३ औषधि उद्योग सञ्चालित छन् । नयाँ ३० उद्योग सञ्चालनको तयारीमा छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved