बाल अस्पताल बनाउन काठमाडौँ महानगरको ४ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 11:00:10 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माण गर्न काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

बुढानिलकण्ठमा निर्माण हुने उक्त अस्पतालका लागि काठमाडौँ महानगरपालिकाले ४ करोड आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा प्रमुख शाक्यले मुलुक संघीयतामा गईसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । 

‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘नीजि क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।

‘बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञहरुलाई एउटै छानमुनी राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ,’ डाक्टर कोइरालाले भने, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौँ । त्यही अभियान अन्तर्गत प्रदेश १ बाट हामी छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।’ 

‘काठमाडौँमा हामीले २ सय बेडको अस्पताल निर्माणको तयारी गरेका छौँ,’ डाक्टर कोइरालाले भने, ‘काठमाडौँ महानगरपालिकाले गरेको सहयोग हाम्रो अभियानकालागि कोशेढुंगा बनेको छ । अब अस्पताल निर्माणको काम द्रुत गतिका साथ अघि बढ्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved