

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शनिबार काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् ।
दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनबढि संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको आज औपचारिक उ्दघाटन गरिएको हो ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले एक करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै कोरोना महामारीका विरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।
अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री भुसालले क्षत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिईन् । मन्त्री भुसालले निःशुल्क चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रक्रिया अघि बढाउने आश्वासन दिएकी छिन् ।
मन्त्री भुसालले यही मंसिर १ गतेदेखि देशैभरिका गरिब जनता, जसले मासिक २० युनिट विद्युत खपत गर्दैनन्, उनीहरुलाई विद्युत निःशुल्क उपलब्ध गराइएको जनाउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पारिन ।