ओमिक्रोन भेरिअन्टबाट संक्रमण हुँदा के हुन्छ ? यस्ता छन् अहिलेसम्म भेटिएका पाँचवटा आम लक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 08:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर कोभिड-१९ को ओमिक्रोन भेरिअन्ट तीव्र गतिमा फैलिरहेको छ र वैज्ञानिकहरूले यो हालसम्मकै सबैभन्दा सङ्क्रामक भेरिअन्ट भएको सङ्केत गरिरहेका छन्।

तर कोरोनाभाइरसको यो प्रकारले विगतका भेरिअन्ट भन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको छ र कोभिड-१९ लाई रुघा खोकी वा फ्लुसँग मिल्दोजुल्दो बनाएको छ।

यद्यपि तेज गतिमा ओमिक्रोन फैलिरहेकाले यसले स्वास्थ्य प्रणालीमाथि दबाव कायमै राखेको छ। खोप नलगाएका र उच्च जोखिममा रहेका समूहहरूका लागि यो चिन्ताको विषय रहिरहेको छ।

तर हामी कोभिड-१९ र श्वासप्रश्वास सम्बन्धी अन्य सङ्क्रमणबीच कसरी फरक पत्ता लगाउन सक्छौँ?

ओमिक्रोनका लक्षण

किङ्ग्स कलेज लन्डनका जो कभिड स्टडी नामक संस्थाको नेतृत्व गरिरहेका इपिडिमिओलोजिष्ट डाक्टर टिम स्पेक्टरका अनुसार खोप लगाएका मानिसहरूमा देखिएका डेल्टा भेरिअन्टसँग मिल्दोजुल्दो रूपमा ओमिक्रोनलाई ठान्न सकिन्छ।

स्पेक्टर र उनका सहकर्मीहरूले एउटा एपमा आफूलाई देखिएका लक्षण उल्लेख गरेका हजारौँ मानिसहरूबाट तथ्याङ्क सङ्कलन गरिरहेका छन्। उनीहरूले डेल्टा भेरिअन्ट र ओमिक्रोन भेरिअन्टका लक्षणहरूको विश्लेषण गरेका छन्।

अहिलेसम्म पाँचवटा आम लक्षणहरू यस्ता छन्:

  1. नाकबाट पानी बग्ने
  2. टाउको दुख्ने
  3. शरीर गल्ने (मध्यम वा गम्भीर)
  4. हाच्छिउँ आउने
  5. घाँटी दुख्ने

मध्यम खालको लक्षण देखिनुको कारण मुख्य रूपमा अधिकांश मानिसहरूले खोप लगाएका वा अरू कारणले प्रतिरोधी क्षमता हासिल गर्नाले हो।अहिले नै ओमिक्रोनले खोप नलगाएका र प्रतिरोधी प्रणाली कमजोर रहेका व्यक्तिहरूमा कस्तो प्रभाव पार्छ भन्नु हतारो हुनेछ।

प्राध्यापक स्पेक्टरका अनुसार अहिले भन्ने गरिएका ओमिक्रोन भेरिअन्टका लक्षणहरू रुघा खोकीसँग मिल्दोजुल्दो भएकाले धेरै मानिसहरूलाई आफूलाई कोभिड-१९ नभएको लाग्न सक्छ।

यसको अर्थ ओमिक्रोन द्रुत रूपमा फैलिरहेको क्षेत्रमा हाल सङ्क्रमण उच्च देखिएको लन्डनमा जस्तै रुघा खोकीको लक्षण भएका व्यक्तिमा कोभिड-१९ सङ्क्रमण भइरहेको हुनसक्छ।

तपाईँलाई आफू भाइरसबाट सङ्क्रमित भएको लागेमा सबैभन्दा महत्त्वपूर्ण कुरा तुरुन्तै परीक्षण गराउनु हो। मध्यम वा कुनै पनि लक्षण नभएका व्यक्तिले पनि अरूलाई जोखिममा पार्न सक्छन्।

यसअघि कोभिड-१९ का भेरिअन्टहरूका लक्षण ज्वरो, रुघा खोकी र स्वाद तथा गन्ध हराउने रहेका थिए। तर किंङ्ग्स कलेजका प्राध्यापक स्पेक्टरका अनुसार अधिकांश मानिसहरूले नयाँ सङ्क्रमणमा ती ‘परम्परागत लक्षण’ नरहेको बताइरहेका छन्।

कुन लक्षणलाई लिएर चिन्तित हुनुपर्छ?

ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले सबैलाई निम्न लक्षणहरूबारे सचेत रहन सुझाव दिएको छ।

अकस्मातको निरन्तर खोकी

ज्वरो वा उच्च तापक्रम

स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुनु

तर कतिपयका लागि कोभिड-१९ ‘नराम्रो रुघाखोकी’ जस्तो बन्न सक्छ जसमा टाउको दुख्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने लक्षण हुन्छन्।

के ज्वरो कोरोनाभाइरसको अकाट्य लक्षण हो?

३७ दशमलव ८ डिग्री भन्दा माथिको जुनसुकै अवस्थालाई उच्च तापक्रम मानिन्छ। ज्वरो मानिसले कोभिड-१९ मात्रै नभएर जुनसुकै सङ्क्रमणसँग जुझिरहँदा पनि देखापर्न सक्छ।

थर्मोमिटरको प्रयोग गर्नु सबैभन्दा उपयुक्त हो। तर यदि तपाईँसँग छैन भने आफ्नो छाती वा शरीरको पछाडिको भाग तातो छ कि छैन भनेर छाम्नुहोस्।

रुघाखोकीका कारण ज्वरो आउने सम्भावना कम हुन्छ।

त्यही भएर यदि तपाईँलाई ज्वरो आएको छ भने परीक्षण गराउनुहोस्।

खोकी लक्षण हो?

यदि तपाईँलाई फ्लु भएको छ वा चिसो लागेको छ भने तपाईँमा खोकी र अन्य लक्षणहरू देखा पर्न सक्छन्।

अधिकांश अवस्थामा फ्लु एकाएक देखिन्छ। पीडितहरूको मांसपेशी दुख्ने, जाडोले शरीर काँप्ने, टाउको दुख्ने, शरीर गल्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने वा नाक बन्द जस्तो हुने लक्षण खोकीसँगै देखिन्छन्।

रुघा खोकी बिस्तारै बढ्दै जान्छ र कम गम्भीर हुन्छ। यद्यपि त्यसले बिरामी भएको महसुस गराउनसक्छ। खोकीसँगै हाच्छिउँ आउने, घाँटी दुख्ने वा नाकबाट पानी बग्ने भएपनि ज्वरो, जाडोले शरीर काँप्ने, मांसपेशी दुख्ने वा टाउको दुख्ने लक्षण हतपत देखा पर्दैन।

कोभिड-१९ मा खोकी 

लाग्दा एक घण्टामा धेरै पटक खोकी लाग्छ। चौबिस घण्टाको अवधिमा तीन वा त्यो भन्दा बढी पटक अनियन्त्रित किसिमको खोकी देखापर्छ।यदि तपाईँलाई नयाँ र निरन्तर खोकी देखियो भने तपाईँले परीक्षण गराउनुपर्ने हुन्छ।

तपाईँले स्वाद वा गन्ध गुमाउनु भयो भने त्यसको अर्थ के हुन्छ?

स्वाद वा गन्ध गुम्नु कोभिड-१९ को प्रमुख लक्षण हो र यसको अर्थ तपाईँले परीक्षण गराउनुपर्छ।

तपाईँलाई सामान्य रुघा खोकी मात्रै भएको पनि हुनसक्छ। तर सङ्क्रमण अरूमा फैलन नदिन तपाईँले परीक्षण गराउनैपर्छ।

हाच्छिउँ आउनुको अर्थ कोरोनाभाइरस लाग्नु हो?

हाच्छिउँ आउनु कोरोनाभाइरसको मूल लक्षण होइन।

तपाईँलाई ज्वरो, खोकी वा स्वाद गुमेको र शरीर कमजोर भएको जस्तो महसुस भएको छैन भने त्यसबाट कुनै समस्या नहुनु पर्ने हो।

तर हाच्छिउँले सङ्क्रमण सार्न सक्छ त्यही भएर खोक्दा टिस्युको प्रयोग गर्नुस् र त्यसपछि आफ्नो हात धुनुहोस्।

नाकबाट पानी बग्यो वा नाक बन्द भयो भने के गर्ने?

यो कोरोनाभाइरसको एउटा प्रमुख लक्षण हैन तर विभिन्न अनुसन्धानहरूले सङ्क्रमित देखिएका मानिसहरूले यस्तो लक्षण महसुस गरेको सङ्केत गरेका छन्।

अमेरिकाको स्वास्थ्य सम्बन्धी मापदण्डमा नाकबाट पानी बग्ने वा नाक भरिएको अवस्थालाई कोरोनाभाइरसको सम्भावित लक्षणका रूपमा उल्लेख गरिएको पाइन्छ।

त्यसै गरी झाडापखालालाई पनि अर्को लक्षणका रूपमा राखिएको छ।

के झाडापखाला लक्षण हो त?

दक्षिण अफ्रिकाको तथ्याङ्कमा कतिपय मानिसहरूका पाचन प्रणालीमा देखा परेका समस्यालाई ओमिक्रोनको सम्भावित लक्षणका रूपमा राखिएको थियो।

तर प्राध्यापक स्पेक्टरका अनुसार यूकेमा ओमिक्रोन सङ्क्रमण अरू भेरिअन्टसँग मिल्दोजुल्दो देखिन्छ।

त्यो भनेको मूलतः यो श्वासप्रश्वासको सङ्क्रमण हो।

के म ओमिक्रोनका कारण गम्भीर बिरामी बन्न सक्छु?

प्रारम्भिक तथ्याङ्क र अध्ययनले ओमिक्रोन भेरिअन्ट विगतका भेरिअन्टहरूभन्दा कम घातक रहेको देखाएको छ।

आंशिक रूपमा भाइरसको उत्परिवर्तनका कारण यस्तो भएको हो। तर मूल रूपमा खोपबाट प्राप्त भएको सुरक्षा र प्राकृतिक रूपमा रोग प्रतिरोधी क्षमता देखा पर्दा यो अवस्था आएको हो।

तर जुन गतिमा अहिले ओमिक्रोन सङ्क्रमण फैलिरहेको छ त्यो चुनौती हो र धेरैजना विशेष गरी विगतमा निश्चित समस्या देखिएका बिरामीहरू जोखिममा पर्न सक्छन्।

कोरोनाभाइरस भएका मानिसहरूलाई मध्यमदेखि गम्भीर प्रकारका लक्षणहरू देखा पर्न सक्छन्। कतिपयलाई कुनै पनि लक्षण नदेखिएपनि उनीहरूमा सङ्क्रमण भइरहेको हुन्छ।

कोरोनाभाइरस भएका व्यक्तिसँग सम्पर्क भएको दुई हप्तापछिसम्म पनि लक्षण देखिनसक्छन् तर अधिकांश अवस्थामा करिब पाँच दिनबाट लक्षण देखिन्छ।

सास फेर्न अप्ठेरो हुनु गम्भीर प्रकारको सङ्क्रमणको लक्षण हो। - बिबिसीबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved