बजेटमा औषधि उद्योगीको महत्त्वपूर्ण मागको सुनुवाई भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 07:10:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्न सुरु गरेपछि नेपालका औषधि उद्योगीहरु केही दूरगामी घोषणाको अपेक्षामा टिभी हेरेर बसे । तर, बजेट भाषणमा अर्थमन्त्री शर्माले औषधि उद्योगका सम्बन्धमा कुनै महत्वपूर्ण घोषणा गरेनन्।

आफूमा निर्णय क्षमता भएको दाबी गर्ने अर्थमन्त्रीबाट आफूहरुले दिएका सुझावहरु बजेटमार्फत समेटिने अपेक्षा गरेका औषधि उद्योगीहरु निराश बने । नेपाली औषधि उद्योगहरुले ‘आधारभूत संरक्षण’ पाउनुपर्ने उद्योगीहरुको माग यसपटक पनि सुनुवाई भएन । फलस्वरुप, नेपालमा पर्याप्त मात्रामा उत्पादन हुने औषधिको आयातले निरन्तरता पाउने भएको छ ।

औषधि उत्पादक उद्योगी उमेशलाल श्रेष्ठले आफूहरुले दिएका सुझाव बजेटमा कतै सम्बोधन नभएको बताए । नेपाली औषधि उद्योगलाई संरक्षण र प्रोत्साहन गर्न आयात बन्द गर्न वा आयातमा भन्सार दर बढाउन आफूहरुले सुझाव दिएको भएपनि सरकारले नसुनेको उनको भनाई छ ।

२०७४ सालको निर्णय आजसम्म कार्यान्वयन भएनआफ्नै देशमा बन्ने औषधिको आयात रोक्ने निर्णय २०७४ जेठमै भएपनि अहिलेसम्म धमाधम विदेशमा उत्पादित औषधिहरुको आयात भईरहेको छ ।

नेपालका औषधि उत्पादक उद्योगीहरुले विभिन्न ३० थरीका औषधि विदेशबाट ल्याउन नपर्ने र आन्तरिक उत्पादनले नै माग धान्ने बताईरहेका छन् । २०७४ जेठ ३० गते औषधि व्यवस्था विभागले पनि यो स्वीकार गरेर ३० थरीका औषधिको आयात रोक्ने र कच्चा पदार्थ मात्रै आयात गर्ने भनेको थियो।

स्वास्थ्य मन्त्रालयमा यो निर्णय कार्यान्वयनका लागि कार्यतालिका नै बनेको थियो । कार्यतालिका अनुसार २०७४ असार मसान्तबाट नेपाल आत्मनिर्भर रहेका ३० प्रकृतिका औषधिको आयात रोक्ने भन्ने थियो । तर, अहिलेसम्म पनि यो कार्यतालिका कार्यान्वयन भएको छैन।

मन्त्रालयले कार्यतालिका बमोजिम काम गर्न त्यतिबेला नै औषधि व्यवस्था विभागमा पत्र पठाएको भएपनि विभागले हालसम्म कार्यतालिका कार्यान्वयन नगर्दा भारत सहितका विभिन्न देशबाट नेपालमा पर्याप्त र माग अनुसार उत्पादन हुने औषधिहरु पनि आयात भइरहेका छन् । 

यी हुन् आत्मनिर्भर भएका औषधि 

मूलुकमा ३० थरीका औषधिमा आत्मनिर्भर छ भन्ने विषय उद्योगीहरुले मात्रै नभई औषधि व्यवस्था विभागले पनि स्वीकार गरिसकेको विषय हो । औषधि उत्पादक संघले कोभिडको समयमा स्यानिटाइजर आयातका विषयमा आन्दोलन गर्दा पनि यो विषय उठेको थियो।

औषधि उत्पादक संघका अनुसार अल्बेन्डाजोल, एमोक्सासिलिन एजिथ्रोमाइकीन, ट्रीमेथोरपीम प्लस सल्फामेथोजाजोल, मेट्रोनीडाजोल, एन्टासिड, ओमेप्राजोल, पेन्टाप्राजोल, रेनीटेडीन र पारासिटामोलमा नेपाल आत्मनिर्भर छ।

सेट्रेजीन, इन्डोमेथासीन, टीनिडाजोल, अल्वेन्डाजोल, विभिन्न खाले मलमहरु, अक्सीक्लोनजाइड भेट, लेभामीजोल भेट, कालामाइन लोसन, क्याल्सियम कार्बोनेट, जेन्सन भ्वाइलेट, निमो सुलाइड, ट्रामाजोल, साइप्रो हेप्टाडिनमा पनि नेपाल आत्मनिर्भर छ।

तर, यी औषधि अहिले पनि आयात भईरहेका छन् । आत्मनिर्भर भएका औषधिको आयात रोक्ने हो भने औषधि खरिदमा वार्षिक रुपमा बाहिरिने ५ अर्ब रकम आधाले घट्ने उद्योगीहरुको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved