डेंगीको संक्रमण बढेसँगै सिटामोलको अभाव

रासस

रासस

Sep 09, 2022 | 06:36:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डेंगी ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।

काठमाडौं उपत्यकालगायत देशका अन्य जिल्लामा दैनिक डेंगीका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेंगीका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ ।

डेंगीका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ । मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलले डेंगीका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्ने बताए । धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्ने उनको भनाइ छ ।

नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने गुनासो सुनेको बताए । ‘डेंगी बढेसँगै एक दुई दिनअघि मात्र जनताले सिटामोल पाइएन भन्ने सुनेको छु’ उनले भने, ‘सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक संघलाई आइतबार बोलाएर छलफल गर्नेछु ।’ 

सङ्कटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने उनले बताए । महामारीको बेला सिटामोलजस्ता औषधिको अभाव हुन नदिने उनको भनाइ थियो । औषधि उत्पादक संघलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved