वीर अस्पतालका १२८ कर्मचारीले ५ महिनादेखि तलब पाएनन्

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Mar 10, 2023 | 05:00:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पतालको टसलका कारण वीरमा कार्यरत १२८ कर्मचारीले ५ महिनादेखि तलब खान पाएका छैनन् । ती कर्मचारीले गत कार्तिकदेखि नै तलब खान नपाएका बताए । उनीहरु अस्पताल र मन्त्रालयको गैरजिम्मेवारपनको पराकाष्टा भएको बताउँछन् ।

जसमा लोकसेवा आयोग पास गरेर नियुक्त भइ आएका ३७ जना पनि परेका छन् । ‘हामीले लोकसेवा पास गरेर जागिर खान आएका हौँ, नियुक्ती पत्र लिएर काम थालेको पनि पाँच महिना पुग्यो’ वीर अस्प्तालमा कार्यरत एक मेडिकल अधिकृतले बिजपाटीसँग भने ‘तर अहिलेसम्म पहिलो तलब पनि पाउन सकेका छैनौँ ।’

पहिलो तलब नै नपाउने ३७ मध्ये १४ जना नर्सिङ अधिकृत, ७ जना रेडियोग्राफी टेक्नोलोजिष्ट, ४ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट र १२ जना मेडिकल अधिकृत रहेका छन् । उनीहरु सबैलाई लोकसेवा आयोगले स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो ।

सो लगत्तै कर्तिक पहिलो साता उनिहरुलाई स्वास्थ्य मन्त्रालयले नियुक्तिपत्र प्रदान गरेको थियो । मन्त्रालयमा २ महिना हाजिर गराएर स्वास्थ्यले पुष ३ गते पुल दरबन्दीमा कामकाज गर्न वीर अस्पतालमा खटाएको थियो ।

वीरमा खटिनु अघिसमेत तलब नपाएका उनीहरुलाई स्वास्थ्य मन्त्रालयले पदस्थापन गरी खटाइएकै निकायबाट तलब भत्ता भुक्तानी हुने गरी वीर अस्पतालमा पठाएको हो । तर नियुक्ती लिएदेखि अहिलेसम्मको तलब कसले दिने भन्ने अन्योल बन्दा उनिहरु समस्यामा परेका छन् । 

तलबका विषयमा अस्पतालसँग कुरा गर्दा मन्त्रालयमा गएर धर्ना दिनु भन्ने ठाडो जवाफ पाएका उनीहरुले गत माघ ९ गते स्वास्थ्य मन्त्रालयका सचिवलाई सामुहिक ज्ञापनपत्र समेत बुझाएका थिए । तर ज्ञापन पत्र बुझाएको समेत एक महिना वित्दा समस्या समाधान हुने छाँट अझै नदेखिएको एक कर्मचारीले दुखेसो गरे ।

‘देशमै सेवा गर्नुपर्छ भनेर सरकारी निकायमा जागिर खान आइयो तर सामाजिक सुरक्षाको प्रत्याभुत त यहाँ पनि रहेनछ नी ?’ एक मेडिकल अधिकृतले प्रश्न गर्दै फेरि थपे ‘तलबविहीन भएर आधा वर्ष काम गरिसकियो, हामी पनि त परिवार भएको मान्छे हो नी, आर्थिक क्राइसिस याहाँभन्दा अरु केही झेल्न बाँकी नै छैन अब ।’

तलब कै लागि अस्पताललाई गुहार्दा जिम्मेवार व्यक्तिबाट नै मन्त्रालय जाउ भन्ने ‘ओठे जवाफ’ पाउने गरेको उनको गुनासो छ । ‘घर ब्यवहार त ठप्पै भयो, दिनभरी काम गरेर बेलुका घर जान नी मन नलाग्ने भइसक्यो, परिवारलाई के भन्ने, ऋण खोजेर कति महिना चल्ने ?’ अर्का एक कर्मचारीले भने ‘तलबै कसले दिने हो अन्योल भयो, अस्पतालमा गयो मन्त्रालय जाउ भन्छ, मन्त्रालय गयो अस्पतालले दिन्छ उतै जाउ भन्छ ।’

यो समस्या यी ३७ जनाको मात्रै होइन, वीर अस्पतालमै कार्यरत अरु ९१ जनाको पनि उस्तै छ । वर्षौदेखि सङ्घमा फाजिल दरबन्दीमा रही वीरमै कार्यरत अरु ९१ जनाले समेत मङ्सिरयता तलब पाउन सकेका छैनन् । 

तलब खुवाउन स्वास्थ्यसँग रकम मागेका छौँ : वीर अस्पताल

यता आफ्ना कर्मचारीको समस्याबारे वीर अस्पताल पनि बेखबर भने छैन । ‘सबै विषय हामीलाई थाहा छ, यो परिस्थितीले सिर्जना गरेको कुरा हो’ अस्प्तालका निर्देशक डा सन्तोष पौडेलले बिजपाटीसँग भने ‘समस्या समाधान गर्न लागिरहेका छौँ, आशा गरौँ छिट्टै हुन्छ ।’

तलब खुवाउन आवश्यक रकम अस्पतालसँग नरहेकाले आफूहरुले मन्त्रालयसँग रकम माग गरेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए । वीरले स्वास्थ्य मन्त्रालयसँग ३७ जना नयाँका लागि करिब २ करोड र ९१ जना फाजिल दरबन्दीका कर्मचारीका लागि साढे ३ करोड रकम माग गरेको मिश्रले सुनाए ।

तर स्वास्थ्यले भने अर्थ मन्त्रालयमा सो फाइल पठाएको छैन । स्रोतका अनुसार स्वास्थ्यले वीरलाई यसअघि अन्य शिर्षकमा पठाएको १५ करोडबाट तलब भत्ता खुवाउन मौखिक निर्देशन दिँदै आएको छ । यता अस्पताल भने रकमान्तर गर्न नमिल्ने भन्दै तलबबापतको थप रकम माग गर्दै आएको छ । मन्त्रालय र वीरको जुहारीका कारण कर्मचारी भने समस्याको भुमरीमा परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved