नामै तोकेर नीजिमा विरामी पठाउँछन् सिभिल अस्पतालका डाक्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 07:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन साता अघि यूपिएसमा शौचालयको पानी छिरेर सिटी स्क्यान सेवा बन्द भएपछि सिभिल अस्पतालका चिकित्सक नामै तोकेर विरामीलाई निजी ल्याबहरुमा पठाउने गरेको खुलेको छ । करिब ५ वर्ष अघि खरिद गरिएको अमेरिकन कम्पनीको यूपिएसमा गत फागुन ११ गते एक्कासी शौचालयको पाइप फुटेर पानी छिर्दा सेवा पूर्ण रुपमा बन्द भएको थियो । त्यसयता अस्पताल प्रशासनले मर्मतको प्रयास गरे पनि सेवा भने सुरु हुन नसकेको जनाएको छ ।

‘हामीले पानी पसेकै दिन मेकानिक बोलाएर देखायौं, उहाँको सल्लाहका एक हप्ता घाममा सुकायौं पनि’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले भने ‘बन्छ÷बन्दैन थाहा छैन, भारतबाट मेकानिक बोलाउने कुरा पनि छ, तर ढिलो हुने भयो ।’

पाँच वर्षअघि सिटी स्क्यान सेवा सुरु गर्ने तयारी गर्दा यूपिएस राख्ने स्थान नभएपछि महिला शौचालय मासेर त्यहाँ यूपिएस राखिएको थियो । पूरानो शौचालय भएकाले अन्य शौचालयको पाइप कनेक्सन बाँकी रहँदा यूपियसमा पानी छिर्न गएको कर्मचारी बताउँछन् । 

शौचालयमा राखिएको यूपिएस र त्यहाँ हुन सक्ने सम्भावित जोखिमको आँकलन अस्पताल र सम्बन्धित शाखाका कर्मचारीले गर्न नसक्दा अस्पतालले ठूलो आर्थिक हानी र विरामीले सास्ती ब्यहोर्नु परेको एक कर्मचारीले बताए ।

यस्तो छ विरामीको दुखेसो 

‘मेरो घर सिन्धुली, मेरुदण्डको समस्याले एक हप्तादेखि अस्पताल धाइराछु’, अस्पतालकै प्राङ्गणमा भेटिएका श्याम बम्जनले बिजपाटीसँग भने, ‘डाक्टरले सिटी गर्नुपर्छ तर यहाँ हुँदैन, तपाइँ स्वयम्भू जानुस भनेर नाम लेख्दिनुभयो, एक दिन त खोज्नै लाग्यो, ट्याक्सी भाडा मै पन्ध्र सय गयो ।’

डाक्टरले लेखिदिएको पेपर हेर्दा त्यहाँ अरनिको मेडिकल डाइगनोष्टिक सर्भिस प्रालि लेखिएको थियो । डाक्टरले जहाँ जाउ भन्यो त्यहाँ नगए राम्रो जाँच हुन्न भन्ने लगेर आफू त्यहाँ पुगेको उनले बताए ।

‘के थाहा र खोइ, जहाँ जाउ भन्यो त्यहाँ त जानै प¥यो नी, नभए रिपोर्ट नहेरिदिने हो की भन्ने डर’, उनले थपे, ‘पैसा पनि सिटीको मात्रै ११ हजार ५ सय लाग्यो, २ पल्ट आउजाउ गर्दा ५ हजार ट्याक्सीमा गयो ।’

हातमा ललितपुर ट्रि–टेस्ला एमआरआइ एण्ड डाइग्नोष्टिक सेन्टर लेखिएको झोलामा रिपोर्ट बोकेर डाक्टर कुर्दै बसेकी अर्की एक महिलाको पनि पिडा बम्जनको जस्तै छ । अस्पतालको सेवा अवरुद्ध भएको मौका छोपेर कार्यरत डाक्टर भने आफू निकट वा कमिसन आउने ठाउँमा बिरामीलाई महँगो शुःल्क तिराउन तल्लिन रहेको ति विरामीका आफन्तको आरोप छ ।

यता अस्पताल प्रशासन समेत यो विषय डाक्टरको व्यक्तिगत सुझाव रहेको हुन सक्ने प्रतिक्रिया दिन्छ । ‘३ हप्तादेखि हामीले चाहेर पनि सिटीको सेवा दिन नसकेको सत्य हो, विकल्पमा हामीले त वीर, टिचिङ अस्पतालमा जानुस नै भन्छौँ’, प्रशासकीय अधिकृत सापकोटाले भने, ‘डाक्टरले यहाँ जानुस्, त्यहाँ जानुस् भन्नु त उहाँको व्यक्तिगत सल्लाह होला, यसमा अस्प्ताल जोडिंदैन ।'

उनका अनुसार सिभिल अस्पतालमा सिटी स्क्यानको सेवा सुरु हुन केही समय अझै लाग्नेछ । त्यसका लागि अस्पतालले यूपिएस मर्मत वा नयाँ खरिद प्रक्रिया के गर्ने छलफल कै विषय रहेको सापकोटाले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved