अस्पतालको बेड संख्या वेवसाइटमा राख्न स्वास्थ्य मन्त्रीको निर्देशन, विदेश भ्रमणको उपलब्धि पनि माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 03:25:59 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिक रुपमा बेड (शैया) उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शैयामा भर्ना भएका र रिक्त शैयाको सङ्ख्या वेबसाइटमा दैनिक रुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् ।

“ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै बेड पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ’ उनले भने, ‘काठमाडौँमा अस्पतालको शैयाको खोजीमा हिँड्दाहिँड्दै बिरामीको मृत्युसम्म हुने गरेको छ, सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा शैयामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।”

अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका छन् । मन्त्री बस्नेतले स्वाथ्यकर्मी तथा मन्त्रालयका अधिकारीहरुको वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन पनि निर्देशन  दिए ।

चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिको विवरण माग गरेका छन् । 

“विदेश भ्रमण मन्त्रालयमा रोगका रुपमा देखिएको छ, दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषयविज्ञका नाममा पटक–पटक विदेश भ्रमणमा जाने देखिएको छ” उनले भने । 

दुई वर्षसम्म प्रयोग नभएका वा हुन नसकेका स्वास्थ्य सामग्री र उपकरण फिर्ता लिने र आवश्यकताअनुसार अन्य अस्पतालमा वितरण गर्न पनि उनको निर्देशन छ  ।

जनशक्ति र स्थान नभएका अस्पतालका लागि उपकरण खरिद गरेकाबारे स्पष्टीकरण सोध्ने, अस्पताललाई दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने र सबै सङ्घीय अस्पतालको उपकरण परीक्षण गर्न पनि उनले निर्देशन दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved