गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2024 | 07:00:29 PM मा प्रकाशित

nepal oil ltd

कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरंगी सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा ती अस्पतालमा अन्तरंग सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।

 ‘एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ’, उनले भने, ‘आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकतासाथ बजेट विनियोजन गर्छौ।’

मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशमा सञ्चालित आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरंग सेवा सुरु गर्न लागिएको हो । प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको उनले बताए ।

कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायतका भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ । ‘आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, राज्यको पनि खासै ध्यान पुग्न सकिरहेको थिएन’, मन्त्री पाठकले भने, ‘व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तीय स्वास्थ्य सेवा दिने थलोका रुपमा आयुर्वेद अस्पताललाई विकास गर्नु जरुरी छ ।’

पोखरामा थप एउटा सुविधायुक्त आयुर्वेद अस्पताल सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ । प्रदेश सरकार मातहत आएको बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल अस्पताललाई ५० शय्याको अस्पतालका रुपमा सञ्चालन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गरेको मन्त्री पाठकले बताए । स्वास्थ्य  क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनको भनाइ छ ।  नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved