वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकारसँग माग गरेको छ। श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग संघले सार्वजनिक गरेको हो।
हाल श्रम मन्त्रालयअन्तर्गत वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले २१२ वटा स्वास्थ्य संस्था सूचीकरण भएका छन् ।
तीमध्ये ३६ वटा संस्थाले मलेसिया, गाम्का मेडिकलअन्तर्गत १९ वटा मेडिकलले जीसीसीअन्तर्गत खाडी राष्ट्र, कतारका लागि कतार भिसा सेन्टर, कोरिया जाने कामदारका लागि शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र नेपाल–कोरिया मैत्री अस्पतालले स्वास्थ्य परीक्षण गर्दै आएका छन् । संघले निजी क्षेत्रबाट २ अर्बभन्दा बढी लगानी रहेको र २ हजारभन्दा बढी प्राविधिक कर्मचारी र करिब १० हजार व्यक्तिहरू आश्रित रहेका अवस्थामा विभिन्न आवरणमा स्वास्थ्य परीक्षण गर्नु प्रत्यक्ष रूपमा सिन्डिकेट भएको दाबी गरेको छ ।
संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ।