
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ । स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरुतै अर्को स्वास्थ्य संस्थामा पठाइ उपचारको व्यवस्था मिलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरु अस्पतालमा प्रेषण गर्नुपर्ने छ ।
आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वय चुस्त बनाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । संस्थामा प्रेषण गर्न नहुने र स्वास्थ्य संस्थाले सेवा उपलब्ध नहुँदा मात्रै सबैभन्दा नजिकै र पायकपर्ने वा माथिल्लो तहको अस्पतालमा प्रेषण गर्न सकिनेछ ।
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले विभिन्न किसिमका बिरामीको प्रेषणका लागि मापदण्ड भए पनि समग्र अस्पतालको प्रेषण प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको जानकारी गराएका हुन् । निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपु¥याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ ।
निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रिय स्तरमा सो सम्बन्धी एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीबारे आवश्यक जानकारी साझा हुने भएकाले परीक्षण दोहोर्याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।
निर्देशिकाले बिरामीलाई आफू उपचार गर्न जाने ठाउँबारे जानकारी लिन पाउनेबारे पूर्ण अधिकार दिएको छ भने उपचार सम्भव भएसम्म अस्पतालका तर्फबाट प्रेषण गर्ने विषयलाई पनि नियन्त्रण गर्न खोजेको छ ।