स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर देशभरका १४ संघीय अस्पतालमा १८ नयाँ सेवा तथा सुविधा थप गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार एक्सरे फिल्म हटाउने, आइभीआर सेवा थाल्ने, शैय्या विस्तारलगायतका सुधारात्मक कार्यक्रम लागू गरिनेछन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा दिने उद्देश्यले संघीय अस्पताल सुधारलाई प्राथमिकतामा राख्दै आएका छन्। मन्त्रालयका सचिव डा. रोशन देवकोटाका अनुसार संघीय अस्पतालहरूमा सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ।
वीर अस्पतालमा चैत्र दोस्रो साताबाट काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाइकल क्यान्सर परीक्षण सेवा सुरु हुनेछ। ट्रमा सेन्टरले एमआरआई, सीटी स्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिन थाल्नेछ।
भरतपुर अस्पतालले क्याथ ल्याब सञ्चालन गर्नेछ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण थप्नेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागको शव राख्ने क्षमता ७२ पुर्याउने तयारी गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरी ओपीडी सेवा सुरु गर्नेछ। कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडायलासिस सेवा ल्याउनेछ।
भक्तपुर क्यान्सर अस्पतालले ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ। परोपकार प्रसुती अस्पतालले कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला सुरु गर्नेछ।
तनहुँस्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले हेमोडायलासिस सेवा सुरु गर्नेछ। डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना संकलन सेवा थालिनेछ।
नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्दै हिस्टोप्याथोलोजी, कोल्पोस्कोपी र क्रायोथेरापी सेवा सुरु गर्नेछ। भेरी अस्पतालले १० आइसीयु शैय्या थप्दै जलन वार्डमा ६ शैय्या थप्नेछ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चैत्र महिनाभित्र यी सबै सेवा नागरिकले प्राप्त गर्न सक्नेछन्।