भारतले किन रोक्यो नेपालबाट हुने पाम आयलको आयात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 03:09:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा विदेशी मुद्राको अभाव हुने संकेत देखिएको छ । भारतले पाम आयल आयात नगर्ने भनेपछि भारतमा पाम आयल निर्यात गर्दै आएका नेपाली निर्यातकर्ताहरु मारमा परेका छन् ।

नेपालको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान दिएको पाम आयलको निर्यात रोकिएपछि व्यापार घाटा फेरि चुलिने सम्भावना देखिएको छ । तर उद्योग वाािणज्य तथा आपुर्ति मन्त्रालयले दुई देशका सचिवस्तरमा यसबारे छलफल भइरहेको बताएको छ । तर अहिलेसम्म कुनै ‘रिजल्ट’ नआएको उद्योग राज्यमन्त्री मोतिलाल दुगडको भनाई छ ।

उनका अनुसार नेपालबाट पाम आयल निर्यात गर्ने निर्यातकर्ता र भारतका आयातकर्ताबीच पनि संवाद भइरहेको छ । व्यवसायीको स्तर र सचिव स्तरबाट भएका र हुने प्रयासबाट नतिजा नआए मन्त्रीस्तरकै छलफल गर्ने तयारी थालिएको उनको भनाई छ ।

‘सिमा विवादले रोकेको होइन’

भारतले पाम आयलको आयात रोकेको कारण नेपालले अझै पत्ता लगाउन सकेको छैन । नेपालबाट मात्रै नभई बंगलादेश र इण्डोनेशीयाबाट पनि भारतले पाम आयलको आयात रोकेको छ । भारतका आन्तरिक उद्योगहरुले पाम आयल आयात गर्नु हुँदैन भनेर सरकारसँग लविङ गरिरहेको आफूले भारत भ्रमणका क्रममा थाहा पाएको राज्यमन्त्री दुगडको भनाई छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने निर्णय गरेको र मन्त्रिपरिषद् बैठकले नक्सा पारित गरेको भोलिपल्टबाटै भारतले पाम आयलको आयात रोकेपछि सिमा विवादकै कारण भारतले पाम आयलको आयात रोकेको भन्दै अनुमान गरिएको छ । तर राज्यमन्त्री दुगड भने यो एउटा संयोग मात्रै भएको र सिमा विवादकै कारण पाम आयलको आयात भारतले रोकेको हुन नसक्ने बताउँछन् । तर पछिल्लो समय दुई देशबीचको तनावका कारण आयात नखोल्ने पो हो की भन्ने मनमा चिन्ता भने रहेको उनको भनाई छ ।

‘भारतले ६ महिना अघिदेखि पाम आयाल आयात गर्न पाउने गरी व्यवसायीहरुलाई लाइसेन्स दिएको थियो’ राज्यमन्त्री दुगडले भने, ‘लाइसेन्स पाएकाहरुले तोकिएको परिणामा पाम आयाल किन्दै आएका थिए । तर अहिले नेपाल लगायतका देशबाट आयात रोकेको नभई भारतले आफ्नै देशका आयातकर्ताहरुको लाइसेन्स नविकरण नगरिदिँदा समस्या भएको हो ।’

चालु आर्थिक वर्षको ९ महिनामा १४ अर्बभन्दा धेरैको पाम आयल निर्यात भएको थियो । यो गत वर्षको यो तुलनामा ४० प्रतिशतले बढी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved