जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 11, 2020 | 04:16:17 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुपको जगदम्बा कम्पनीले उत्पादन गर्दै आएको फलामे रड भाँचिएपछि नापतौल तथा गुणस्तर विभागले इजाजत रद्द गरेको छ । बालाजु बोहोराटारका श्रिकृष्ण गिरीले आफ्नो घर बनाउन प्रयोग गरेका जगदम्बाका १६ एमएमका रड मर्काउने क्रममा भाँचिएपछि गुणस्तर विभागमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा विभागले संकलन गरेको नमूना परीक्षणका क्रममा गुणस्तरहीन पाईएपछि हाल शंकर ग्रुपलाई डण्डी बिक्रिमा रोक लगाईएको छ ।

विभागका अनुसार शंकर ग्रुपको जगदम्बा स्टिलको लाइसेन्स रद्द भएको छ । 

‘हामीले इजाजत नै रद्द गरेका छौँ’ विभाग स्रोतले भन्यो, ‘उसले कमजोरी स्वीकार गरेको थियो, गल्ती प्रमाणित भएका कारण इजाजत रद्द गरिएको हो ।’ 

गल्ती स्वीकारेर स्पष्टिकरण

विभागले डण्डीको ल्याब परीक्षणमा खराबी पाएपछि कम्पनीलाई स्पष्टिकरण सोधेको थियो । विभागले भदौ १२ गते पत्र लेखेरै १५ दिनभित्र स्पष्टिकरण दिन भनेको थियो । विभागले पत्र काटेपछि कम्पनीले आफ्नो कमजोरी स्वीकार गरेर स्पष्टिकरण पठाएको छ ।

‘जगदम्बाले गल्ती स्वीकार गरेर स्पष्टिकरण बुझाएको छ’ विभाग स्रोतले भन्यो, ‘कोभिडका कारण जनशक्तिको अभाव हुँदा गल्ती भयो भनेर स्पष्टिकरण पठाएको छ, कच्चा पदार्थको भण्डारण र प्रशोधनमा दक्ष जनशक्ति नहुँदा कमजोरी भयो भनेर आफ्नो गल्ती स्वीकार गरेरै उसले स्पष्टिकरण दियो ।’

३ सय टन डण्डी फिर्ता गराइँदै

कम्पनीले विभागमा पठाएको स्पष्टिकरण र त्यसअघि दिएको जवाफ अनुसार गुणस्तरहीन भेटिएको बस्तुको लटमा ३ सय टन डण्डी उत्पादन भएको भनिएको छ । कम्पनीले उक्त लटमा २ देखि ३ सय टन डण्डी उत्पादन गरेको जानकारी विभागलाई दिएको छ । विभागले केही दिनभित्रै उक्त सबै परिणामका डण्डी फिर्ता गर्न भनिसकेको छ ।

‘हामीले २ देखि ३ सय टन डण्डी फिर्ता गराउँदै छौँ’ विभागले भन्यो, ‘फिर्ता गरिसक्यौँ भनेर कम्पनीले जानकारी दिएपछि पीडितलाई क्षतिपूर्तिको पहलका लागि वाणिज्य विभागमा पठाउँछौँ । फिर्ता गरेँ भनेपछि पुनः बजार अनुगमन हुन्छ, त्यतिबेला भेटियो भने थप कारबाही पनि गर्छौँ ।’

कम्पनीले थप कारबाहीको प्रक्रियामा नजान र यसको बदलामा पीडितलाई विभिन्न सेवा सुविधा दिने बचन दिएको छ । जगदम्बाले पीडितलाई रड किन्दा लागेको खर्च वापतको पूरै रकम फिर्ता दिन तयार रहेको पनि जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved