काठमाडौँमा फेरि लकडाउनको प्रस्ताव, के होला महासंघको निर्वाचन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2020 | 12:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा र निर्वाचन तोकिएकै मितिमा हुने वा नहुने भन्ने अन्यौल दोहोरिन थालेको छ । गत चैत्र २८ र २९ गते हुनुपर्ने साधारणसभा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेका कारण बारम्बार धकेलिँदै आएको छ । अहिले मंसिर ११ र १२ गते साधारसभा र १३ गते निर्वाचन गर्ने मिति घोषणा भएपनि काठमाडौँ उपत्यकाका तीन नगरपालिका (काठमाडौँ महानगरपालिका, ललितपूर महानगरपालिका र भक्तपूर नगरपालिका) ले गृह मन्त्रालयलाई पुनः लकडाउन गर्न आग्रह गरेपछि यो मितिमा साधारणसभा हुन सक्ने वा नसक्ने अन्यौल सिर्जना भएको हो ।

‘उम्मेद्वार र मतदातालाई सुरक्षित राख्न मापदण्ड बन्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष एवम् आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान सम्पूर्ण मतदाता र उम्मेद्वारलाई सुरक्षित राख्न महासंघक वर्तमान नेतृत्व र आगामी नेतृत्व बसेर स्वास्थ्य मापदण्ड तयार पार्नुपर्ने बताउँछन् । यो जिम्मेवारी हालका अध्यक्ष भवानी राणा र आगामी अध्यक्ष शेखर गोल्छाको भएको उनको भनाई छ ।

‘केही मतदाता र केही उच्च उम्मेद्वारहरुलाई कोरोना लागि पनि सकेको छ, यस्तो अवस्थामा तोकिएकै मितिमा साधारणसभा र निर्वाचन सम्पन्न गराउन उम्मेद्वार र भोटरलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका मापदण्डमा रहेर महासंघले पनि स्वास्थ्य प्रोटोकल बनाउनुपर्छ’ प्रधानले भने, ‘यसको सम्पूर्ण जिम्मेवारी वर्तमान अध्यक्ष र आगामी अध्यक्षको हो, उहाँहरुलाई हामीले सुझाव दिई पनि रहेका छौँ ।’

स्पष्ट मापदण्ड नबने निर्वाचनमा भाग लिन काठमाडौँ आउने प्रतिनिधिले जिल्ला जिल्ला र घर घरमा कोरोना लिएर फर्किन सक्ने डर रहेका कारण त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाई छ । विभिन्न जिल्लाका प्रतिनिधिहरुले काठमाडौँमा आउन नसक्ने जानकारी गराईरहेकाले आफ्ना सदस्यलाई बचाउने जिम्मेवारी महासंघले लिनुपर्ने र यसका लागि स्पष्ट स्वास्थ्य प्रोटोकल बनाईनुपर्ने उनको भनाई छ ।

विकल्प के ?

महासंघको साधारणसभा र निर्वाचनको ढांचा तथा प्रक्रिया तयार गर्न महासंघले एक समिति बनाएको थियो । गत साउन २१ गते गठित सो समितिले महासंघका अध्यक्ष भवानी राणा समक्ष बुझाएको सुझाव प्रतिवेदन पेश गरेको थियो ।

६ सदस्यीय समितिले सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गरेको थियो । समितिलेसाधारण सभाको उद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचन भने सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी क) सबै क्षेत्र (जिल्ला–नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा, ख) जिल्ला–नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा र ग) कम्प्युटराइज ई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू दिएको थियो । 

जिल्ला÷नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य सदस्य रहेको उक्त समितिले दिएको सुझाव अनुसार काठमाडौँमा निर्वाचन गर्ने गरी महासंघले कार्यतालिका नै बनाईसकेको छ । बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदानस्थल तोकिएको छ भने उपाध्यक्षहरुको निर्वाचन कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ । अरु कार्यकारिणी सदस्यहरुको निर्वाचनका लागि भने महासंघको भवन टेकुलाई नै मतदानस्थल तोकिएको छ ।

तर, उपत्यकाका नगरपालिकाहरुको अनुरोध अनुसार काठमाडौँमा लकडाउन भए वा अन्य गतिविधि गर्न रोक लगाईए निर्वाचन मोडल प्रस्ताव समितिले दिएको सुझाव अनुसार प्रदेश स्तरमा निर्वाचन गर्नुपर्ने किशोर प्रधानको भनाई छ । 

‘हामीले बनाएको समितिले अवस्था सामान्य रहे काठमाडौँमा निर्वाचन गर्न सकिने भनेको थियो’ प्रधानले भने, ‘अब काठमाडौँमा निर्वाचन गर्न नसकिने अवस्था आयो भने दोस्रो विकल्पमा जानुपर्ने हुन्छ, यो भनेको प्रदेश स्तरबाट मतदान गर्ने हो । महासंघको कार्यकारिणी बैठकले छलफल गरेर यसबारे निर्णय गर्न सक्छ ।’

उक्त समितिको सदस्य रहेर प्रतिवेदन तयार पार्न भूमीका खेलेका अरुणराज सुमार्गी पनि महामारीको अवस्थामा काठमाडौँमा निर्वाचन नहुने देखिए विकल्पमा महासंघ नेतृत्वले छलफल गरेर निर्णय गर्नेमा आशावादी रहेको बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved