खारेजीबाट जोगियो बाह्रसिङ्गे वियर, उद्योग दर्ताको ५ वर्षपछि सञ्चालन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 01:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बाह्रसिङगे वियर उत्पादन गर्ने याक ब्रुइङ कम्पनीको उद्योग दर्ता सम्बन्धिको विवाद टुंगो लागेको छ । दर्ता भएको वर्षदिन सम्म उत्पान सुरु गरे नगरेको जानकारी उद्योग विभागमा नगराएको भन्दै उद्योगको दर्ता नै खारेजीको प्रक्रियामा पुगेको याक ब्रुइङले पुनः सञ्चालनको अनुमति प्राप्त गरेको हो ।

२०७२ सालमा विभागमा दर्ता भएर पनि एक वर्षसम्म उत्पादन थालेको वा नथालेको भन्ने जानकारी नदिएको भन्दै विभागका तत्कालिन महानिर्देशक शिवराज न्यौपानेले उद्योगको दर्ता नै खारेज गर्ने प्रक्रिया सुरु गरेका थिए । २०७५ सालबाट उद्योगको दर्ता खारेजी प्रक्रिया सुरु भएको भएपनि हालसम्म हुन सकेको थिएन । विभागमा जानकारी नगराएपनि उद्योगले २०७५ सालसम्म १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेर उत्पादन थालिसकेको थियो ।

नियामकमा उजुरीका चाङ

बाह्रसिङगे वियर उत्पादन गर्ने भनेर याक ब्रुइङ कम्पनी दर्ता भएपनि एक वर्ष भित्र विभागमा दिनुपर्ने लिखित जानकारी नदिएको भन्दै कम्पनीको दर्ता खारेजीका लागि बेनामी उजुरी परेको थियो । उद्योग विभागमा मात्रै नभई अन्य नियामक निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व विभागमा पनि उजुरी परेको थियो । अदालत र सीआईबीमा पनि उजुरी परेका कारण उद्योगका सञ्चालक रवि केसी तनावमा थिए ।

सबैतिर उजुरीका चाङ पुगेका भएपनि सबैभन्दा बढी चासो भने उद्योग विभाग र आन्तरिक राजश्वलाई थियो । विभागले आफ्नो तरिकाबाट प्रक्रिया अघि बढाएको भएपनि आन्तरिक राजश्व विभागले भने सबैभन्दा धेरै चासो देखाएको थियो । कम्पनीले वियर उत्पादन गरेर बजारमा पठाउनुपर्ने भएकाले राजश्व विभागको अन्तशुल्क स्टिकर टाँस गर्नुपर्ने हुनाले पनि यो विभागले बढी चासोका साथ हेरेको थियो । 

अन्तशुल्क स्टिकर माग भएपछि आन्तरिक रावश्व विभागले उद्योग विभागलाई २०७६ साल जेठ १० गते पत्र पठाएर याक ब्रुइङ नामक कम्पनी दताए रहे नरहेको जानकारी सहित सञ्चालन अनुमति पाए नपाएको जानकारी माग गरेको थियो । 

‘याक ब्रुङङ नामक कम्पनी दर्ता रहेको वा नरहेको र उक्त कम्पनीले सञ्चालनको अनुमति पाए नपाएको जानकारी खुलाइ पाऊँ’ राजश्व विभागले उद्योग विभागलाई लेखेको पत्रमा भनिएको थियो ।

राजश्वको पत्रको जवाफ पठाउँदै उद्योग विभागले ‘अभिषेक श्रेष्ठलगायतको नाममा दर्ता भएको उक्त कम्पनी दर्ता भएको फाइल उद्योग विभागमा रहेको र सञ्चालनको प्रक्रियामा समेत रहेको बुभिएको छ’ भनिदियो । 

उद्योग विभागको पत्रका आधारमा राजश्व विभागले कम्पनीलाई अन्तशुल्क स्टिकर दियो । स्टिकर पाएपछि २०७६ असारबाट बाह्रसिङ्गे वियर बजारमा आयो ।

नयाँ औद्योगिक ऐनले राहत

उद्योग विभागको पत्रको आधारमा अन्तशुल्क स्टिकर पाएर उत्पादित वियर बजारमा पुगिसक्दा पनि अन्य निकायमा परेको उजुरीका कारण कम्पनीले उद्योग सञ्चालनको अनुमति पाउन सकेको थिएन । तर, यही बीचमा गतवर्ष नयाँ औद्योगिक व्यवसाय ऐन आएपछि भने उद्योगी रवि केसीले केही राहतको महशुस गरे । किनकी उक्त ऐनमा दर्ता भएको तर सञ्चालन अनुमति पाउन नसकेको उद्योगलाई सञ्चालनको प्रक्रियामा ल्याउन उद्योग विभागले ३ महिनाको सूचना जारी गर्न सक्ने व्यवस्था थियो । 

सबै किसिमका उद्योगहरुको हकमा यो प्रावधान लागू हुन्छ भन्ने बहस भएपनि मदिरा उद्योगलाई नसमेट्ने गरी बहस केन्द्रित हुन थाल्यो । त्यतिबेलाका उद्योगमन्त्री मातृका यादव ऐनमा मदिरा उद्योग नराख्ने पक्षमा रहेको बताइन्छ । यादवको अडानका बीचमा पनि मदिरा उद्योगलाई समेटेरै औद्योगिक व्यवसाय ऐन पारित भयो । ऐन पारित भएपछि उद्योग विभागले ३ महिने सूचना जारी निकाल्यो ।

३ महिने सूचना आउनासाथ सञ्चालनको अनुमति माग गर्दै याक ब्रुइङ कम्पनी विभागमा पुग्यो । त्यसपछि कम्पनीले उद्योग सञ्चालनको अनुमति पाएको हो ।

सञ्चालक रवि केसी अब बजार विस्तार र गुणस्तरीय उत्पादनमा जोड दिईने बताउँछन् । तत्कालिन उद्योग मन्त्री मातृका यादवले जावलाखेल डिस्टिलरीको प्रभावमा परेर आफूहरुलाई दुःख दिने काम गरेको भएपनि अन्तिममा सत्यको जित भएको र यसअघिका सबै दुःख बिर्सिएको उनको भनाई छ ।

बाह्रसिङगे वियर वल्ड दरबार समूहकै हो । यसका सञ्चालक केसी मदिरा उत्पादक संघका अध्यक्ष पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved