कहाँ कहाँ स्थापना हुँदैछन् ६ वटा औद्योगिक क्षेत्र ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 13, 2020 | 01:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

थप ६ वटा औद्योगिक क्षेत्र बन्ने प्रक्रिया सुरु भएको छ । सरकारले २०७४ सालमा नै एक प्रदेश एक औद्योगिक क्षेत्र स्थापनाका लागि १८ सय बिघाभन्दा बढी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता गराएको थियो । सोही अनुसार ६ वटा नयाँ औद्योगिक क्षेत्र स्थापनाको काम अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी निर्देशक सिर्जना श्रेष्ठ बताउँछिन् ।

लिमिटेडले २०४५ सालपछि हुन नसकेको औद्योगिक क्षेत्र विस्तारका लागि अन्य क्षेत्रमासमेत जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो । प्रदेश नम्बर १ को झापास्थित दमकमा ४५३ बिघा, बागमती प्रदेशको हेटौंडा मयुरधापमा २०० बिघा, लुम्बिनी प्रदेशको रूपन्देही–मोतीपुरमा ८१३ बिघा र बाँके–नौबस्तामा ३३८ बिघा जग्गा खरिद गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता भईसकेको छ ।

बागमती प्रदेशको चितवन शक्तिखोरमा १७४१ बिघा र सुदूरपश्चिम प्रदेशेको कञ्चनपुर–दैजीमा २९४ बिघा जग्गा खरिद गरिसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निकट भविष्यमा नै देशमा ६ वटा औद्योगिक क्षेत्रको औपचारिक आरम्भ हुने बताएको छ । नयाँ बन्ने प्रक्रियामा रहेका औद्योगिक क्षेत्रहरुमा मयूरधाप औद्योगिक क्षेत्र (मकवानपूर), दुहवी औद्योगिक क्षेत्र (सुनसरी), नौबस्ता औद्योगिक क्षेत्र (बाँके), मोतीपूर औद्योगिक क्षेत्र (रुपन्देही), शक्तिखोर औद्योगिक क्षेत्र (चितवन) र दमक औद्योगिक क्षेत्र (झापा) रहेका छन् । हेटौँडा, मोतीपूर र नौबस्तामा औद्योगिक क्षेत्रको लागि कार्यालय निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

हाल केन्द्र सरकारमार्फत बजेट विनियोजन, व्यवस्थापन र अन्य काम भईरहेका यी औद्योगिक क्षेत्रहरु सञ्चालनमा आएपछि पनि केन्द्र सरकार मातहत नै रहने छन् । थप ६ वटा औद्योगिक क्षेत्रहरु बनेपछि नेपालमा १६ वटा औद्योगिक क्षेत्र पुग्नेछन् । 

यसैबीच अन्य ११ वटा स्थानमा पनि औद्योगिक क्षेत्र स्थापनाको काम भईरहेको छ । प्रदेश २ को सर्लाहीस्थित मुर्तीया, बागमती प्रदेशको काभ्रेको पनौती, गण्डकी प्रदेशको गोर्खाको च्याङ्ली र तनहुँको चिन्तुटार, लुम्बिनी प्रदेशको दाङको लक्ष्मीपूर, कर्णाली प्रदेशको दैलेखको चुप्रा र सुदूरपश्चिम प्रदेशको कैलालीको लम्कीमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा हुने क्रममा छ । 

हाल सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगमा सरकारको ४५ करोड बढी र निजी क्षेत्रको ३ हजार करोडको हाराहारीमा लगानी छ । नयाँ बन्ने औद्योगिक क्षेत्रमा भने हबको रुपमा ‘एक औद्योगिक क्षेत्र एक उत्पादन’ को अभियानलाई पनि तीव्रता दिईएको छ । 

हाल सञ्चालनमा रहेका औद्योगिक ग्रामहरु लकडाउनका कारण केही समय बन्द भएको भएपनि हाल भने क्रमशः पूर्ण क्षमतामा खुल्ने क्रममा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी निर्देशक श्रेष्ठको भनाई छ । लकडाउन हुँदा ९५ प्रतिशत उद्योगहरु बन्द भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved