अख्तियारको कारवाहीमा परेका देवकोटा उदयपुर सिमेन्टको महाप्रबन्धकमा सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 10:28:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका ध्रुब बहादुर देवकोटालाई उदयपूर सिमेन्ट उद्योगको महाप्रबन्धकमा सिफारिस गरिएको खुल्न आएको छ। उदयपुर सिमेन्ट उद्योगमा रहँदा चरम भ्रष्टाचार गरेको आरोपमा अख्तियारको कारवाहीमा परेका देवकोटा सोहि संस्थाको महाप्रबन्धकमा सिफारिस गरिएको खुलासा भएको हो। 

उदयपुर सिमेन्टमा दोस्रो वरियतामा खरिद तथा प्रशासन महाशाखा प्रमुख पदमाबाट अवकाश पाएका देवकोटाले भ्रष्टाचार गरेको देखिएको भन्दै अख्तियारले उनलाई सो रकम असुल उपर गरि विभागीय कारबाही गर्न निर्देशन दिएको थियो। आयोगको च. नं. २०५ मिति २०५९/५/१३ को पत्रमा देबकोटाले भ्रष्टाचार गरेको देखिएको हुंदा उनीबाट सो रकम असुल उपर गरि विभागीय कारबाही गर्न निर्देशन भएको हो। 

सोहि निर्देशनअनुसार उद्योगको संचालक समितिको मिति २०६१/१२/६ मा बसेको ४२२ औं बैठकको निर्णयानुसार उद्योगको कर्मचारी सेवा शर्त नियमावली, २०५६ को नियम ९९(४) तथा नियम १०१ अनुसार बिभागीय कारबाही अन्तर्गत हाल खाइपाइ आएको तलव मानको तल्लो स्केलमा (एक ग्रेड) घटुवा गर्ने निर्णय गरिएको थियो। 

देवकोटा खरिद महाशाखा प्रमुख हुंदा खरिद गरेको टेण्डर नं। ४१-१/०७४/७५ अन्तर्गतको खरिदमा लगभग ४ करोड ३० लाख भ्रष्टाचार भएको उजुरी अख्तियारले छानबिन गरिरहेको बुझिएको छ। हालसम्म उक्त पावर प्याक भन्ने सामाग्री कम गुणस्तरको भएकोले थन्किएर बसेको छ।

देबकोटा एकै व्यक्ति चाकडीको भरमा खरिद महाशाखा र प्रशासन महाशाखा जस्तो महत्त्वपूर्ण महाशाखाको एकैचोटि जिम्मेवारी लिई व्यापक अनियमितता गरेको हुंदा निजलाई हदैसम्मको सजाय गरि पाँउ भनी उदयपुर जिल्लाबासी नागरिक समाज र उदयपुर सिमेन्ट उद्योग लिमिटेड का कर्मचारीहरुले मिति २०७७/९/१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन।  उक्त उजुरीको बोद्यार्थ मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालय, उद्योग मन्त्रालय, महाप्रबन्धक छनौट तथा पदपूर्ति समिती र लोकसेवा आयोग समेतलाई दिईएको छ। 

यसरी उद्योगमै महत्त्वपूर्ण पदमा लामो समय ब्यतित गरेका देवकोटामाथि पदको दुरुपयोग गरेको मात्रै नभई विभिन्न निजी सिमेण्ट उद्योगसंग मिलेर उदयपुर सिमेन्टलाई रुग्ण बनाउने काम समेत गरेको आरोप छ। 

चरम भ्रष्टाचार गरेको आरोप पुष्टि भएर जागिरबाट निकालिने अवस्थामा पुगेका तर शक्तिकेन्द्रको दबाबले घटुवाको कारबाहीमा परेका देवकोटाबारे सम्पूर्ण जानकारी दीइन्दा समेत सिफारिस समितिले उनको नाम महाप्रबन्धक जस्तो पदमा सिफारिस गर्नुको पछाडिको कारण बुझ्न सकिएको छैन। 

उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक तथा नेपाल आयल निगमका बहालवाला प्रबन्ध निर्देशक रहेका सुरेन्द्र पौडेलका प्रीयपात्र भएकाले आफ्ना विश्वासपात्र देबकोटालाई नियुक्ति गर्न मन्त्रीलाई प्रभाव पार्ने काममा पौडेल पनि लागेको भन्ने बजार चर्चा छ। तर बजारमा चर्चा गरीएझैं देबकोटालाई सिफारिस गर्नलाई आफ्नो कुनै भूमिका नभएको पौडेलले बिजपाटीलाई बताएका छन्।

यता मन्त्रीले यसपटक सिफारिस समितिलाई कुनै दबाब नदिने, निश्पक्ष रुपमा योग्य उम्मेद्वार चयनमा सहयोग गर्ने भनेर बिचौलियाहरुलाई झपारेकोले देबकोटा महाप्रबन्धक नबन्ने निश्चित देखिएको छ। सिफारिसमा दुई मध्ये एक नंबरमा गोपीकृष्ण न्यौपाने र तीन नंबरमा भूपेन्द्र अर्याल परेका छन्।  

उदयपुर सिमेण्टको रिक्त महाप्रबन्धक (जिएम) पदपूर्ति गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धि निर्देशिका, २०७७ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाई २०७७ साल भाद्र १ गते सूचना प्रकाशित गरेको थियो ।

मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिमा बिषय बिज्ञको रुपमा पूर्व सचिबहरु रामेश्वर खनाल, नारायण प्रसाद बिडारी र कृष्णहरि बास्कोटालाई मनोनित गरेको थियो। यसपटक यो प्रक्रिया पूरा गर्न लोकसेवा आयोगको समेत सहभागिता गराइएको थियो ।

व्यवसायिक कार्ययोजनाको मुल्यांकनका लागि पूर्णाङ्क ३०, प्रस्तुतीकरणको लागि पूर्णाङ्क ३०, अन्तरवार्ताका लागि पूर्णाङ्क २०, अनुभवका लागि पुर्णाङ्क १४ र एक अतिरिक्त शैक्षिक योग्यता बापत पूर्णाङ्क ६ गरि उक्त निर्देशिकामा कुल १०० पूर्णाङ्क नियुक्तिको लागि छनौट मूल्यांकनका आधार तोकिएको थियो। 

१० जना आवेदकहरु मध्ये उक्त सिफारिस समितिले उल्लिखित प्रक्रिया पूरा गरि उच्चतम अंक प्राप्त गर्ने गोपीकृष्ण न्यौपाने, ध्रुब बहादुर देवकोटा र भूपेन्द्र प्रसाद अर्यालको गरि तीन जनाको नाम महाप्रबन्धक पदमा नियुक्तिका लागि सिफारिस गरेको हो। यी मध्ये अख्तियारको कारवाहीमा परेका दोश्रो नंबरमा परेका ध्रुव बहादुर देवकोटा सोही उद्योगमा खरिद तथा प्रशासन महाशाखा प्रमुख भै भरखरै अवकाश प्राप्त कर्मचारी हुन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved