गैँडाछापको विकल्प बनेर बजार आउँदै ‘सौर्य सिमेन्ट’, आईपीओ कहिले ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 28, 2021 | 10:22:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एकताका बजारमा खुबै सुनिने सिमेन्टको ब्राण्ड हो ‘गैँडाछाप सिमेन्ट’ । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्ने गैँडाछाप सिमेन्ट नेपाली बजारमा खुब चलेको नाम हो । अहिले पनि यो सिमेन्टको माग बजारमा धेरै छ । तर, उद्योगले नियमित उत्पादन गर्न नसक्दा गैँडाछाप सिमेन्ट अब जनबोलीमा मात्रै सिमित हुने चिन्ता छ ।

उदयपूर सिमेन्ट उत्पादनको हब नै मानिन्छ । उदयपूरको उत्पादन भनेर बजारमा लगेपछि त्यसलाई हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले अब गैँडाछाप सिमेन्टको विकल्पका रुपमा उदयपूरकै उत्पादन सौर्य सिमेन्ट बजारमा आउँदैछ । 

अहिले यो सिमेन्ट परीक्षणकै क्रममा छ । एक महिनाभित्र सौर्य सिमेन्ट बजारमा आइसक्ने गरी उद्योगले तयारी गरेको छ । प्रतिष्ठित व्यवसायिक घराना शंकर ग्रुप, अम्बे ग्रुप र गोल्छा अर्गनाइजेशनको गरी कुल १५ अर्ब रुपैयाँ लगानीमा बजारमा आउन लागेको सौर्य सिमेन्टले नाम चलेका अरु सिमेन्टलाई टक्कर दिने आँकलन हुन थालेको छ । 

गैँडाछापको विकल्प कसरी ?

सोर्य सिमेन्टको उद्योग सिराहाको कन्र्जनहा नगरपालिकामा छ । चुनढुंगा खानी भने उदयपुरको कटारीमा छ । यो उद्योगको चुन ढुंगा खानी गैँडाछापकै चुनढुंगा खानी बराबर गुणस्तरको भएको उद्योगीको दाबी छ । 

३ प्रतिष्ठित लगानीकर्ता मध्येको एक शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालका अनुसार सौर्य सिमेन्टको उत्पादन क्षमता वार्षिक १० लाख मेट्रिकटन छ । उद्योगको जडित उत्पादन क्षमता दैनिक ३ हजार मेट्रिकटन रहेको छ । 

बजारमा अहिले पनि गैँडाछाप सिमेन्टको माग अत्याधिक रहेको भएपनि उत्पादन नियमित नुहँदा उपभोक्ताले नपाईरहेको अवस्थामा सौर्य सिमेन्टले सोही गुणस्तरको उत्पादन उपभोक्तालाई दिने र गैँडाछाप सिमेन्टको विकल्प बन्ने अग्रवालको दाबी छ । 

उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुनेछ  । यी बाहेक सौर्यले नेपालमै पहिलोपटक ‘लो अल्कलाई’ सिमेन्ट पनि उत्पादन गर्न लागेको छ । यो सिमेन्ट ठूला ठूला जलविद्युत् आयोजना, सिँचाइका नहर तथा खानेपानीका ड्यामहरूमा प्रयोग गरिन्छ  ।

अत्याधुनिक प्रविधियुक्त प्लान्ट 

सौर्य सिमेन्टले राखेको प्लान्ट आधुनिक प्रविधियुक्त छ । यस्तो एकीकृत प्रविधियुक्त प्लान्ट नेपालका कुनैपनि सिमेन्ट उद्योगमा नरहेको सौर्यको दाबी छ । 

चुनढुंगा आउने वित्तिकै स्वचालित रुपमा त्यसको नमूना परीक्षण हुने प्रविधि जडान गरिएको छ । ‘रोटेक टु पियर क्लिन’ पनि जडान गरिएको हुनाले अधिकांश काम प्रविधिमार्फत नै हुने व्यवस्था मिलाईएको छ । 

उत्पादन भईसकेपछि बोरामा प्याकिङ भएका सिमेन्ट पनि स्वचालित रुपमा नै ट्रकमा लोड हुने सुविधा जडान गरिएको छ । उद्योगले हाल २५ मेगावाट विद्युत खपत हुने जनाएको छ । यसमध्ये ६ मेगावाट विद्युत उद्योग आफैँले उत्पादन गर्नेछ ।

आईपीओ कहिले ?

सिमेन्ट बजारमा आउन १ महिना लाग्ने भएपनि उद्योगले यही हप्ताबाट क्लिंकर बिक्री सुरु गर्ने भएको छ । बजारमा भने सौर्य सिमेन्टले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने अनुमान गर्न थालिएको छ । ठूलो क्षमतामा बजारमा आउन लागेको हुनाले निकट भविष्यमा यो उद्योगले आईपीओ ल्याउन सक्ने अनुमान हुन थालेको छ । 

तर, उद्योगका लगानीकर्ताले भने अहिले नै यस विषयमा बोल्न हतार हुने प्रतिक्रिया दिएका छन् । उद्योग पूर्ण वा ६० देखि ८० प्रतिशत क्षमतामा सञ्चालन हुन सकेको खण्डमा केही वर्षभित्रमा यसबारे सोच्न सकिने उद्योगले जनाएको छ । अहिले प्राइभेट कम्पनीकै रुपमा रहेकाले पब्लिक बनेपछि आईपीओमा जान सकिने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved