कच्चा पदार्थको ‘स्ट्याण्डर्ड’ बिना नै सिमेन्ट उत्पादन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 01:07:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नापतौल तथा गुणस्तर विभागले सिमेन्टको स्ट्याण्डर्ड तोकेको भएपनि सिमेन्ट निर्माणमा प्रयोग हुने क्लिङ्करको भने गुणस्तर तोकेको छैन । ५० किलो ओपीसी सिमेन्ट तयार पार्न यसको ९७ प्रतिशत अर्थात् ४८.५ किलो क्लिङ्कर प्रयोग हुने गरेको भएपनि गुणस्तर विभागले क्लिङ्करको स्ट्याण्डर्ड तोकेको छैन ।

क्लिङ्करमा आधारित उद्योगहरुको संख्या धेरै छ । उनीहरुकै दबाबमा विभागले स्ट्याण्डर्ड तोक्न नसकेको वा नचाहेको कतिपयको आरोप पनि छ ।

किन तोकिएन स्ट्याण्डर्ड ?

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीहरु एकमत नहुँदा क्लिङ्करको स्ट्याण्डर्ड बनाउन नसकिएको बताएका छन् । विभागले स्ट्याण्डर्ड बनाउन उद्योगीहरुसँग छलफल गरेपनि उनीहरु एकमत नहुँदा क्लिङ्करको स्ट्याण्डर्ड बनाउन सिर्जना भएको उनको गुनासो छ ।

‘अहिलेसम्म क्लिङ्कर बनाउन अनुमति लिनुपर्ने नियम छैन, हामी यसको पनि स्ट्याण्डर्ड बनाउने र उत्पादनका लागि अनुमति लिनुपर्ने प्रावधान बनाउने प्रक्रियामा छौँ’ महानिर्देशक पुडासैनीले भने, ‘यसका लागि उद्योगीहरुसँग छलफल चाहिँ भईरहेको छ, उहाँहरुबीच नै एकमत देखिएको छैन, कोही बनाउनुपर्छ भन्नुहुन्छ, कोही बनाउन हुँदैन भन्नुहुन्छ ।’

उनले क्लिङ्कर ‘रेगुलेट’ भएको ‘फाइन’ प्रोडक्ट नभएका कारण यसको स्ट्याण्डर्ड सुरुमा नबनाईएकाले अहिले पनि सोही अनुसार नै उत्पादन र बिक्रि भईरहेको बताए । तर, यसको प्रयोग सिमेन्टबाहेक अन्यत्र नहुने भएकाले सिमेन्टमा भने गुणस्तरमा निकै कडाई गरिएको महानिर्देशक पुडासैनी बताउँछन् ।

नगदमा बिक्रि

अहिले आएका ठूला सिमेन्ट उद्योगहरु क्लिङ्करमा आधारित छन् । गुणस्तर विभागबाट बजारमा सिमेन्ट पठाउन अनुमति पाउन समय लाग्ने भएकाले यो अवधिमा उद्योगहरुले क्लिङ्कर उत्पादन गरेर बिक्रि गर्छन् । क्लिङ्करको कुनै स्ट्याण्डर्ड पनि नहुने र बिक्रि पनि उधारो नभई हाताहाती हुने भएकाले उद्योगहरु यसतर्फ आकर्षित भएको उद्योगीहरु नै स्वीकार गर्छन् ।

‘सिमेन्टको आयु सामान्यतया ३ महिनाको हुन्छ, बेष्ट विफोर थ्री मन्थ भन्ने गरिन्छ’ एकजना उद्योगीले भने, ‘तर, एक वर्षसम्म पनि पैसा उठ्दैन । बरु यो भन्दा त क्लिङ्कर बेच्नै सजिलो हुन्छ, किनकी क्लिङ्कर उधारोमा बिक्रि हुँदैन ।’

क्लिङ्कर उत्पादन गर्ने उद्योगले क्लिङ्कर नबनाउने उद्योगलाई नगदमा क्लिङ्कर बेच्ने भएकाले कारोबारमा कुनै ढिलासुस्ती नहुने देखेरै अहिले क्लिङ्करमा आधारित उद्योगहरुको संख्या बढिरहेको उद्योगीहरु बताउँछन् ।

भारतमा भन्दा सस्तो

अहिले नेपाली बजारमा ८ हजार २ सय रुपैयाँम प्रतिटनमा क्लिङ्कर पाइन्छ । जबकी, केही वर्ष अघिसम्म भारतबाट आयात गर्नुपर्ने बाध्यता थियो । अहिले भारतीय बजारमा क्लिङ्करको मूल्य प्रतिटन ११ हजार ४ सय नेपाली रुपैयाँ छ ।

‘भारतबाट ल्याउँदा ढुवानीमा साह्रै समस्या थियो, अहिले अधिकांश उद्योगले यहीँ क्लिङ्कर बनाउँछन्’ एक जना उद्योगी भन्छन्, ‘नेपालको चुनढुंगा पनि उच्च गुणस्तरको भएकाले भारतबाट ल्याईएकोभन्दा सस्तो र गुणस्तरीय क्लिङ्कर हाम्रै नेपालको हुँदो रहेछ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved