आईपीओको तयारीमा रहेको रिलायन्स मिल्सले भित्र्यायो जापानी प्रविधि, २० प्रतिशतले बढ्यो क्षमता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 01:10:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपीओ निष्काशनको तयारीमा रहेको नेपालकै सबभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ मिल्सले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा सबैभन्दा धेरै धागो उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आएको रिलायन्स स्पिनिङ मिल्सले अझ गुणस्तरीय धागो उत्पादन गर्न नयाँ जापानी प्रविधि ल्याएको हो ।

धागो उत्पादनमा लाग्ने लागत पनि कम हुने र गुणस्तरीय धागो उत्पादन गर्नका लागि नयाँ प्रविधि भित्र्याईएको कम्पनीका कार्यकारी अध्यक्ष अध्यक्ष पवनकुमार गोल्यान बताउँछन् ।

२० प्रतिशत क्षमता बृद्धि

नेपालमै पहिलोपटक भित्र्याईएको भनिएको यो प्रविधि भारतमा पनि कतै कतै मात्रै उपलब्ध छ । यसले उत्पादन लागत कम गर्ने भएकाले १ अर्ब ७० करोड रुपैयाँ लगानी पनि थप गरिएको उद्योगका सञ्चालक शसिकान्त अग्रवालको भनाई छ । 

१० अर्ब रुपैयाँ लगानी भईसकेको यो उद्योगले नयाँ प्रविधि भित्र्याएपछि आफ्नो उत्पादन क्षमता पनि २० प्रतिशतले बढेको दाबी गरेको छ । यो उद्योग स्थापना भएको २५ वर्ष भईसकेको छ । 

विश्व बजारमा प्रतिस्पर्धी

यो उद्योगले गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँको धागो निर्यात गरेको थियो । नयाँ प्रविधिले फरक तरिकाबाट धागो उत्पादन गर्ने भएकाले अन्तराष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बन्न मद्दत पुग्ने अग्रवालको विश्वास छ । 

नयाँ प्रविधि प्रयोग गरेर उत्पादन हुने धागोमा भुवा नआउने भएकाले पनि अब विश्व बजारमा रिलायन्सले अझ बढी प्रतिस्पर्धी भूमीका निर्वाह गर्ने सञ्चालकहरुको दाबी छ । नयाँ प्लान्ट नै लगाएका कारण हालको तुलनामा अझ विश्व स्तरीय उत्पादन बजारमा पठाउन सकिने विश्वास आफूहरुले लिएको उद्योगी अग्रवालले बताए ।

आईपीओ आउँदै

रिलायन्सले सर्वसधारणका लागि आईपीओ पनि जारी गर्दै छ । गोल्यान ग्रुप र एमएस समूहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सले वुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने भएको छ । कम्पनीले बुक विल्डिङ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ । १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकि ६० प्रतिशत सर्बसाधारणहरुका लागि निष्काशन हुनेछ । 

कम्पनीको कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागोह उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । 

४३ सय बढीलाई रोजगारी दिँदै आएको रिलायन्सले आगामी ५ वर्षमा २ अर्बसम्म लगानी गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved