५ वर्षमा ३७ सिमेन्ट उद्योग दर्ताः १ खर्ब ८० अर्ब लगानी, अधिकांशको सोच आईपीओमा जाने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2021 | 09:30:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अहिले भौतिक संरचना निर्माणको चरणमा छ । २०७२ साल बैशाखको भूकम्पले ढलेका संरचनाको पुनः निर्माण, नव निर्माण लगायतलाई हेरेर सिमेन्ट उद्योगमा लगानीको ओइरो लाग्यो । २०७२ बैशाखको भूकम्पपछि देशभरमा ३७ वटा सिमेन्ट उद्योग दर्ता भएका छन् । 

१ खर्ब ८० अर्ब लगानी प्रतिवद्धता

भूकम्पपछि दर्ता भएका नयाँ ३७ वटा उद्योगहरुमा १ खर्ब ८० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांकमा छ । ३७ मध्ये ठूला लगानीमा आउने तयारीमा रहेका उद्योगहरु तत्कालै बजारमा नआउने मनस्थितीमा छन् । 

लगानी प्रतिवद्धता गरेकामध्ये केही उद्योग मात्रै सञ्चालनमा छन् । हालसम्म प्रतिवद्धताभन्दा करिब आधा रकम मात्रै लगानी भएको छ ।

प्रतिवद्धता अनुसार लगानी किन आएन ?

भूकम्पपछि नीजि आवास र सार्वजनिक भवनहरु निर्माणको कामले तीव्रता पाएको बखत उद्योगीहरु सिमेन्ट उद्योगमा लगानी गर्न तम्सिएका थिए । तर, नीजि आवास पुननिर्माणको काम तुलनात्मक रुपमा राम्रो भएपनि अन्य सार्वजनिक संरचनाको पुनः निर्माण र नव निर्माणको काम सुस्त भएपनि उद्योगीहरु ‘ब्याक’ भएका हुन् ।

‘अहिले नेपालमा सिमेन्टको माग भन्दा उत्पादन ५० प्रतिशतभन्दा बढी छ’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा भन्छन्, ‘भूकम्पपछि जे सोचेर उद्योगीहरुले लगानी गर्ने प्रतिवद्धता गरेका थिए, त्यसो हुन सकेन । भौतिक निर्माणको काम सुस्त नै छ अहिले पनि, त्यही भएर धेरै उद्योगले लगानीको घोषणा गरेपनि उद्योग नै सञ्चालन गर्ने कुरामा पनि आशंकित भएको देखिन्छ ।’

नेपाली बजारमा अहिलेकै उत्पादनले धान्ने भएकाले सिमेन्टको निर्यातका लागि सरकारले निर्यात मैत्री ऐन कानुन नबनाउँदा पनि उद्योगीहरुले प्रतिवद्धता अनुसारको लगानी गर्न नसकेको उनको भनाई छ । 

ठूलो लगानीका सिमेन्ट उद्योग कुन कुन ?

भूकम्पपछि बजारमा आएको ठूलो सिमेन्ट उद्योग हो, रिद्धिसिद्धी सिमेन्ट उद्योग । नेपालका दुई ठूला औद्योगिक घराना शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धिसिद्धी सिमेन्ट २०७३ फागुनमा स्थापना भएको हो । यस कम्पनीले हेटौडा र चितवनस्थिति आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । 

यो पनिः
आईपिओ निष्काशन गर्न सिमेन्ट कम्पनी लालायीत, कुन कुनले जारी गर्दैछन् शेयर ?

प्रतिष्ठित व्यवसायिक घराना शंकर ग्रुप, अम्बे ग्रुप र गोल्छा अर्गनाइजेशनको गरी कुल १५ अर्ब रुपैयाँ लगानीमा सौर्य सिमेन्ट यही महिना बजार आउँदैछ । सिराहाको कन्जर्हवा नगरपालिकामा रहेको यो उद्योगको चुनढुंगा खानी भने उदयपूरमा छ । यो सिमेन्ट उद्योगले बार्षिक १० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

एक बर्षअघि आरएमसी समूहले नवलपरासीको सिसियानीमा साढे ७ अर्ब लगानीमा पाल्पा सिमेन्ट सञ्चालनमा ल्याएको छ । होङ्सी होल्डिङ ग्रुपले पनि दाङमा अर्को उद्योग खोल्नका लागि लगानी बोर्डबाट ३२ अर्ब ५० करोड रुपैयाँको लगानी स्वीकृत गराईसकेको छ । 

चिनियाँ कम्पनी हुवासिनले धादिङको महादेवस्थानमा बार्षिक ८ लाख टन सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने गरी १५ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउँदै छ । चौधरी ग्रुपले पाल्पाको रैनादेवी छहरामा बार्षिक ६ लाख मेट्रिक टन उत्पादन क्षमताको उद्योग सञ्चालनमा ल्याउँदैछ । अर्घाखाँची, मारुती, सम्राट, घोराही जस्ता उद्योगहरुले आफ्नो उत्पादन क्षमता पनि बढाएका छन् । 

आईपीओ ल्याउने मनस्थितीमा उद्योगहरु 

यीमध्ये केही सिमेन्ट उद्योग भने सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने रणनीतिका साथ बजार आउँदै छन् । रिद्धिसिद्धीले बजार आउने बेलामा नै सर्वसधारणको लागी निकट भविष्यमै आईपीओ प्रक्रियामा जाने बताएको थियो । सौर्य सिमेन्टले पनि एकाध वर्षमा आईपीओमा जान सकिने बताईसकेको छ ।

पूरानामध्ये ४ सिमेन्ट उद्योग सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टले साधारण सेयर निष्कासनको तयारी थालिसकेका छन् । शिवम् सिमेन्टले यसअघि नै आईपीओ ल्याईसकेको छ ।

ग्रान्डिङ र क्लिंकरका गरी ६४ वटा सिमेन्ट उद्योगले बार्षिक २ करोड मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हैसियत राख्छन् । तर, बजारको माग भने १ करोड २० लाख मेट्रिक टन मात्रै छ । अहिले कोभिडका कारण बजार माग ८० लाख मेट्रिक टनमा खुम्चिने उद्योगीहरुको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved