चेम्बरका पदाधिकारीलाई परिसंघमा स्वागत, नीजि क्षेत्र एक भएर अगाडी बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 10:00:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरि परिसंघको कार्यालयमा स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका नीजि क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताए । 

कोभिडको पहिलो लहरमा नेपालको नीजि क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझावहरु दिएको उल्लेख गर्दै पहिले भएको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई पनि सरकारले तोकेको सुरक्षा मापदण्ड पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनु पर्नेमा अध्यक्ष मोरले जोड दिए । पहिलेदेखि नै नीजि क्षेत्रले भन्दै आएको लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भएकोले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानी यसको विकल्पको रुपमा रहेको धारणा राखे  ।

 सुरक्षा मापदण्ड पालना गर्नको लागि नीजिक्षेत्र पनि उत्तिकै कडाईकासाथ अगाडी बढ्ने विश्वास व्यक्त गर्दै उनले सरकारले नीजिक्षेत्रलाई खोप आयात गर्न दिनु पर्ने बताए । उद्योगमा कामगर्ने कामदारहरुको लागि नीजिक्षेत्रले सिधै आपूर्तिकर्ताबाट खोप खरिद गरी मजदुरलाई खोप दिने व्यवस्थाको लागि सरकारसँग माग गरे । 

चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भाइचारा, मित्रता र सहकार्यको आगामी मार्गमा परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा राख्दै नेपालका नीजि क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताए । सरकारले नेपालको नीजि क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरहरुलाई पनि सक्रिय परिचालन गरिनु पर्ने धारणा व्यक्त गरे । 

नीजिक्षेत्रबाट सरकारलाई जाने सुझावहरुमा प्राय एकै प्रकारका सुझावहरु हुने भएकोले आगामी दिनहरुमा संयुक्त सुझाव प्रस्तुत गर्न नीजिक्षेत्र तयार हुनु पर्ने बताए । उनले कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेर मात्र नीति नियम बनाउनु पर्ने र उद्योग व्यवसायमैत्री नियम बनाउनु पर्ने धारणा राखे । 

अध्यक्ष मल्लले राजश्व परामर्श बोर्डमा नीजिक्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नु पर्ने बताए । थाहै नपाई मूल्य वृद्धि हुने र विचौलियाबाट मूल्यवृद्धि भएको प्रसंग उल्लेख गर्दै शेयर ब्रोकरको जस्तै घर जग्गाको कारोवारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्नु पर्ने बताएका  हुन् ।   

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएकोले नीजिक्षेत्रको आवाजलाई सहि ठाउँमा पु¥याउन सहकार्य अपरिहार्य रहेको बताए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आम नागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउने धारणा व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved