राष्ट्र बैंकले भन्यो, ‘सिमेन्टमा वैदेशिक लगानी थपौँ’, उद्योगी भन्छन्, ‘ज्यान गए दिँदैनौँ’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2021 | 03:40:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगहरुको अध्ययन गरेर एउटा प्रतिवेदन निकाल्यो । वैदेशिक लगानी रहेका ३ वटा सिमेन्ट उद्योग तुलनात्मक रुपमा स्तरीय रहेको र उनीहरुले मजदूर तथा कर्मचारीलाई दिने सेवा सुविधा पनि राम्रो रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन’ सम्बन्धि रिपोर्टमा सिमेन्ट उद्योगमा थप बैदेशिक लगानी आवश्यक रहेको राष्ट्र बैंकको निष्कर्ष छ । राष्ट्र बैंकले नेपालमा भएको चुनढुंगा खानीलाई समुचित उपयोग गर्दै नेपाली बजारमा सिमेन्टको बढ्दो माग पूरा गर्न र आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिनु उपर्युक्त हुने निष्कर्ष निकालेको छ ।

उद्योगी असहमत 

तर, यो अध्ययन प्रतिवेदनप्रति स्वदेशी सिमेन्ट उद्योगीहरुले भने असहमति जाहेर गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका पदाधिकारीले बजारको मागभन्दा भएका उद्योगको उत्पादन क्षमता झण्डै दोब्बर रहेकाले सिमेन्ट उद्योगमा वैदेशिक लगानी आवश्यक नरहेको बताएका छन् । 

मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेकोले थप विदेशी लगानी ल्याउन नहुने उद्योगीहरुको मत छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा राष्ट्र बैंक जस्तो संस्थाले हचुवाको भरमा तथ्य र तथयांकभन्दा बाहिर गएर अध्ययन गरेको आरोप लगाउँछन् ।

‘राष्ट्र बैंकले गरेको भनेको अध्ययनमा सिमेन्ट उद्योगको संख्या जम्मा ५५ भनेको छ, तर नेपालमा ६५ वटा उद्योग भईसके’ थापा भन्छन्, ‘प्रोडक्सन क्यापासिटी पनि मिलेको छैन, अध्ययनमा १ करोड ५० लाख मेट्रिक टन भनेको छ, हामीसँग २ करोड मेट्रिक टन उत्पादन क्षमता छ । यसरी सिमित उद्योगको स्याम्पल कलेक्सन गरेर गरिएको अध्ययनमा हामी सहमत हुन सक्दैनौँ, हाम्रो पूर्ण असहमति छ ।’

‘हामी सिमेन्टमा एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) आवश्यक छैन भनिरहेका छौँ, तर राष्ट्र बैंक स्वदेशी उद्योगलाई धराशायी बनाउने गरी वैदेशिक लगानी आवश्यक छ भनेर रिपोर्ट दिन्छ’ अध्यक्ष थापाले थपे, ‘अध्ययन रिपोर्टमा सहमति हुन नसकेपछि संघले संशोधनको मागसहित राष्ट्र बैंकलाई पत्र पठाईसकेको छ ।’

‘आधा क्षमतामा चलेको भनेर अपमान गरियो’

राष्ट्र बैंकले उद्योगहरु आधा क्षमता चलेको भनेको छ । उत्पादन क्षमता वार्षिक १ करोड ५० लाख मेट्रिक टन रहेको भएपनि नेपाली उद्योगले आन्तरिक बजारको ९० लाख ५० हजार मेट्रिक टन माग पूरा नगरेको रिपोर्टमा उल्लेख छ । 

राष्ट्र बैंकले बजारको मागमध्ये ७४ लाख ९० हजार मेट्रिक टन स्वदेशी उत्पादनले धानेको र बाँकी १५ लाख ६० हजार मेट्रिक टन सिमेन्ट आयत भईरहेको देखाएको छ । तर, उद्योगीहरु यो तथ्यांक स्वीकार गर्न तयार छैनन् । 

धेरै उद्योगहरु ८० प्रतिशतभन्दा बढी क्षमतामा चलिरहेको र ग्रेडलाई कारण देखाएर ठूला आयोजनामा नेपाली सिमेन्ट प्रयोग नहुँदा मर्कामा परेको स्वदेशी सिमेन्ट उद्योगलाई राष्ट्र बैंकको रिपोर्टले अपमान गरेको उद्योगीहरु बताउँछन् । 

‘५३ ग्रेडको हो भनेर देखाउने कानुन नै छैन, हामी त तयार छौँ । तर, यसको ग्रेड बन्नुपर्यो’ एक जना उद्योगी भन्छन्, ‘ग्रेड नबनाउने, ग्रेड नभएको बाहानामा विदेशबाट सिमेन्ट ल्याईरहने अनि हामीलाई कमजोर देखाएर रिपोर्ट ल्याउने ?’

हाल अर्घाखाँची, मारुती र होङ्सी शिवम् सिमेन्टमा बैदेशिक लगानी रहेको छ । चिनियाँ लगानीको हुवासिन सिमेन्ट पनि बजारमा आउँदैछ । वैदेशिक लगानी थप सिमेन्ट उद्योग आउन नदिने उद्योगीहरुले चेतावनी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved