गोरखकाली मासेपछिको नतिजाः टायर किनेरै १० महिनामा ८ अर्ब बाहिरियो

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 02, 2021 | 03:39:30 PM मा प्रकाशित

स्वदेशी उद्योग बन्द गरेर विदेशी उत्पादनको प्रयोग बढ्दो छ । विलासीका सामान मात्रै नभई खाद्यान्न तथा तरकारी पनि आयात गर्नुपर्ने बाध्यता दिनदिनै बढ्दै गईरहेको छ । रुग्ण उद्योगका रुपमा रहेका स्वदेशी उद्योगहरु पुनः सञ्चालन गर्ने भनिएपनि बन्द भएका उद्योगहरुले पुनःर्जीवन पाएका छैनन् ।

यसको पछिल्लो उदाहरण हो गोरखकाली रबर उद्योग । २०७१ चैत २३ देखि पूर्ण रुपमा बन्द रहेको यो उद्योग पुनः सञ्चालन गर्ने भनिएको पनि ४ वर्ष भईसक्यो । तर, एउटा अध्ययन समिति बन्ने बाहेक अरु काम भएका छैनन् । 

वार्षिक ८८ हजार टायर उत्पादन 

गोरखकाली रबर उद्योग आधुनिक प्रविधियुक्त त थिएन । तर, नेपाललाई टायरमा सत् प्रतिशत परनिर्भर बन्न नदिने एक मात्र उद्योग थियो । 

कुनै समय वर्षमा ८८ हजार थानसम्म टायर उत्पादन गरेको गोरखकाली रबर उद्योगका उत्पादन भारतीय उत्पादनसँग प्रतिस्पर्धी थिए । ट्रकका लागि १२ प्रकारका, जीप तथा भ्यानका लागि ५ प्रकारका र कारका लागि ६ प्रकारका टायर उत्पादन गर्दै आएको यो उद्योग पुनः ब्यूँझनेमा शंका कायमै छ ।

यो उद्योगमा सरकारको ३८ प्रतिशत लगानी छ । २१ प्रतिशत लगानी उद्योग क्षेत्रका समुदायको छ ।  बाँकी साल्ट ट्रेडिङलगायत सरकारी संस्थान र बैंकहरूको लगानी छ । नेपाल सरकार, उद्योग परिसका समुदाय, सरकारी संस्थान र बैंकहरूको कुल २८ करोड लगानी रहेको उद्योग नीजि क्षेत्रसँगको सहकार्यमा पुनः सञ्चालन गर्ने भनिएपनि कार्यविधि नबन्दा बन्दकै अवस्थामा यथावत छ ।

८ अर्बको टायर आयात 

गोरखा नगरपालिका १४, मझुवादेउरालीस्थित ६ सय रोपनी क्षेत्रफलमा सञ्चालित गोरखकाली रबर उद्योग २०४९ मंसिर २९ मा स्थापना भएको हो । तर, २२ वर्ष सञ्चालन भएर बन्द भयो । २२ वर्षसम्म उद्योग चल्दा पनि १ पटक मात्रै नाफा कमाउन सक्यो ।

उत्कृष्ट रबर उत्पादन गर्ने उद्योगका रुपमा कहलिएको गोरखकाली रबर उद्योग बन्द भएपछि नेपाल रबर र रबर जन्य उत्पादनमा १०० प्रतिशत परनिर्भर हुन पुग्यो । चालु आर्थिक वर्ष २०७७/०७८ को १० महिना (२०७८ बैशाख) सम्म मात्रै ७ अर्ब ९९ करोडको टायर आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार हालको कोरोना महामारीका कारण सार्वजनिक यातायातका साधन प्रभावित हुँदा पनि असार मासन्तसम्म १० अर्ब बढीको टायर आयात हुने देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved