सम्राट सिमेन्टका लगानीकर्ताहरुबीचको सेयर खरिद बिक्रिको विवाद समाधान तर्फ अगाडी बढेको छ। बैंकको पहलमा लगानीकर्ता चौधरी ग्रुप र अनिल रुङटाले सेयर बापतको पैसा दिन तयार भएपछि विवाद समाधान तर्फ अगाडी बढेको हो।
चौधरी समुह र अनिल रुङटाले आफ्नो सेयर बापतको पैसा दिन तयार भएपछि सेयर खरिद बिक्रि र सेयर स्वामित्व हस्तान्तरणको विवाद तत्काललाई समाधान भएको हो।
बैंकले पहल र सहजीकरण गरेपछि चौधरी समुह र अनिल रुङटाले आफुले लिएको सेयर बराबरको पैसा दिन तयार भएकाले अहिले करिब करिब समस्या समाधान भएको र पूर्ण रुपमा समाधान भईनसकेको सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द तिमिल्सेनाले बिजपाटीलाई बताए।
उनकाअनुसार बैंकले पहल गरेपछि विवाद समाधानको बाटोतर्फ अगाडी बढेको हो। सम्भवत हप्ता दिन भित्र सेयर बापतको सम्पूर्ण पैसा जम्मा हुनेछ, तर अहिलेनै भुक्तानी आईनसकेकाले सम्पूर्ण समस्या अहिलेनै समाधान भईसकेको छैन।
सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द तिमिल्सेना र चौधरी ग्रुप तथा पुराना साझेदार अनिल रुङटाबीच २०७७ चैत ३ गते सम्राट सिमेन्ट कम्पनीको सेयर खरिद बिक्रि तथा भुक्तानी सम्बन्धि सम्झौता भएको थियो। चौधरी ग्रुपले सम्राट सिमेन्टको ३० प्रतिशत र अनिल रुङटाले ४.२५ प्रतिशत सेयर खरिद गर्ने र यी दुवै पक्षले २०७८ बैशाख २० गते भित्र सेयर बापतको पैसा तिर्ने गरि २०७७ चैत ३ गते सम्झौता भएको थियो।
झन्डै ६० दिन बढी हुँदा पनि सेयर बिक्रि गरे बापतको भुक्तानी नपाएपछि सम्राट सिमेन्टका अध्यक्ष तिमिल्सेनाको अध्यक्षतामा यहि असार २४ गते बिहान १० बजे बसेको संचालक समितिको बैठक बसेको थियो। उक्त बैठकले सम्राट सिमेन्टको खाता तथा कारोबार रोक्का राख्नलाई आफ्ना साझेदार बैकहरुलाई पत्र लेख्ने निर्णय गरेको थियो।
यतिमात्र नभई उक्त बैठकले चौधरी ग्रुपबाट प्रतिनिधित्व गरिरहेका दुई सदस्यलाई संचालक समितिबाट हटाएर पूर्व संचालक समितिलाई मान्यता दिएको थियो। २०७७ साल चैत ३ गते चौधरी ग्रुपलाई ३० प्रतिशत सेयर बिक्रि गर्ने सम्झौता भएको बेला संचालक समितिमा चौधरी ग्रुपबाट २ जना र तिमिल्सेना समुहबाट २ जना गरि ४ जना हुने गरि संचालक समिति बनाउने निर्णय भएको थियो।
सेयर बिक्रि गरे बापतको भुक्तानी नपाएपनि कम्पनीले आफ्नो नाफाको हिस्सा चौधरी ग्रुपलाई दिन परिरहेकाले अध्यक्ष तिमिल्सेनाको समुहले यस्तो निर्णय गरेको स्रोतको दाबी छ। २०६९ सालमा १ अर्ब २० करोडको लगानीमा स्थापना भएको सम्राट सिमेन्टले पछिल्लो दुई बर्ष यता दैनिक ४५ सय टन क्लिन्कर सिमेन्ट बनाउन प्रयोग हुने प्रमुख कच्चा पदार्थ अर्थात उत्पादन गर्दै आएको छ।
सम्राट सिमेन्टका लगानीकर्ताहरु विचको विवाद बढेपछि पछिल्लो समय सिमेन्ट उत्पादन, बिक्रि र आन्तरिक तथा बाह्य व्यवस्थापन प्रभावित हुँदै आएको छ।