आईपीओको तयारीमा रहेको रिलाइन्स स्पिनिङ मिल्सले १५ मेसिन थप्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 02:22:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपीओ निष्काशनको तयारीमा रहेको रिलाइन्स स्पिनिङ मिल्सले उद्योगको उत्पादन आक्रामक रुपमा विस्तार गरेको छ । हाल जापनिज् प्रविधि भित्र्याएर १० वटा मेशिनमार्फत धागो उत्पादन गरिरहेको कम्पनीले अझै १५ वटा मेशिन थप्ने भएको हो ।

सन् २०२२ भित्र थप १५ वटा मेशिन ल्याएर उत्पादन बढाईएने कम्पनीका अध्यक्ष अक्षय गोल्यानको भनाई छ । उनका अनुसार नयाँ मेशिन खरिदको प्रक्रिया सुरु भईसकेको छ ।

निषेधाज्ञामा पनि काम रोकिएन

नयाँ खालका प्रविधि भित्र्याएर तिनको प्रयोगमाफृत धागो उत्पादन गर्दा धागोको गुणस्तर तुलनात्मक रुपमा बलियो हुने कम्पनीका अध्यक्षको भनाई छ । उनका अनुसार अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धि बन्नका लागि पनि गुणस्तरीय धागो उत्पादन गर्नुपर्ने भएकाले सोही अनुसार कम्पनीले नयाँ नयाँ प्रविधि भित्र्याईरहेको छ ।

कोरोनाका कारण निषेधाज्ञा लागू हुँदा पनि मिल्स सञ्चालनमा कुनै अवरोध नभएको उद्योगले जनाएको छ । सञ्चालक गोल्यानका अनुसार मिल्समा हाल १ हजार ८ सय मजदुरलाई ‘लेवर क्वाटर’ मा बस्ने व्यवस्था गरेर उद्योगका कामलाई निरन्तरता दिईएको छ ।

‘हाम्रो उत्पादन निर्यात हुन्छ, बोर्डर बन्द भएकै बेलामा पनि हामीले उत्पादन रोकेनौँ’ गोल्यानले भने, ‘सामान स्टक राख्यौ, तर काम रोकेनौँ ।’ 

उनका अनुसार लकडाउनको अवधिमा पनि उद्योगले क्षमता अनुसार नै उत्पादन गरेको छ । यो अवधिमा उत्पादन नघटेको र क्षमता अनुसार सत् प्रतिशत उत्पादन गरिएको उनको भनाई छ । विस्तारै बजार खुलेकाले स्टक सामान बिक्रि सुरु भएको र लकडाउनको अवधिमा ब्यहोर्नु परेको घाटाको क्षतिपुर्ति भईरहेको गोल्यानले बताए । 

८० प्रतिशत उत्पादन निर्यात

रिलाइन्सले नयाँ प्रविधि भित्र्याएर उत्पादन सुरु गरेपछि उच्च गुणस्तर धोगो उत्पादन भईरहेको दाबी गरेको छ । कम्पनीका अनुसार उद्योगले उत्पादन गरेका धागोमध्ये ८० प्रतिशत विदेशमा निर्यात हुन्छ । 

नयाँ प्रविधि आएसँगै उद्योगले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, एक्रिलेक यार्न र भिसकोस लगायतको धागो उत्पादन गर्दै आएको छ । यी धागोहरु अन्तराष्ट्रिक्ष् बजारमा निर्यात हुने गर्दछन् । 

रिलाइन्सको मुख्य बजार भने भारत र टर्की हो ।

दैनिक ९५ हजार किलो धागो उत्पादन 

हालसम्म १२ अर्ब बढी लगानी भईसकेको उद्योगले नयाँ प्रविधियुक्त मेसिन नल्याउँदासम्म दैनिक ८० हजार किलो धागो उत्पादन गर्दै आएको थियो । तर, केही महिना अघिबाट नयाँ मेसिनमार्फत उत्पादन थालेसँगै अहिले हरेक दिन ९५ हजार किलो धागो उत्पादन हुन्छ ।

थप १५ वटा नयाँ मेशिन ल्याएपछि दैनिक १ लाख २० हजार किलो धागो निकालिने बताईएको छ ।

अल्लोको कपडा पनि उत्पादन

रिलाइन्स स्पिनिङ मिल्स २५ वर्ष पूरानो कम्पनी हो । यो उद्योगले हाल ४५ सयलाई रोजगारी दिएको छ । निकट भविष्यमै सर्वसाधारणको लागि आईपीओ ल्याउने तयारी थालेको यो कम्पनीले केही समय अघिबाट अल्लोको कपडा उत्पादन पनि थालेको छ ।

दक्षिण कोरिया र जापानमा निर्यातको लक्ष्यसहित अल्लोको कपडाको उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । अहिले सानो परिणामा कपडा उत्पादन हुँदै आएपनि निकट भविष्यमा उत्पादन बढाएर निर्यात पनि बढाउने कम्पनीको लक्ष्य छ ।

अहिले थोरै उत्पादन भएपनि उत्पादित कपडा निर्यात हुन थालिसकेको छ । निर्यात भएका मुलुकबाट सकारात्मक प्रतिक्रिया पाउन थालिसकिएको कम्पनीले जनाएको छ ।

सुनसरी जिल्लाको दुहबी र खनारमा कारखाना रहेको रिलाइन्स स्पिनिङ मिल्समा गोल्यान र एमएस समूहको लगानी छ ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत् १४ लाख ६० हजार कित्ता सेयरमध्ये ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि निष्कासन गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved