नेबिको बिस्कुटः ११ घन्टा दन्किएको आगोले ६ दशकको ब्राण्ड जोखिममा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2021 | 01:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेबिको’ बिस्कुट कारखाना अहिले खण्डहर जस्तो बनेको छ । शनिबार बिहानदेखि लागेको आगोले कारखाना अहिले झट्ट हेर्दा डरलाग्दो खण्डहर बनेको हो ।

हरेक दिन बिहान झिसमिसेबाटै बालाजु औद्योगिक क्षेत्र भित्रको नेबिको बिस्कुट कारखानाले उत्पादन थाल्थ्यो । मध्ये रातीसम्म बिस्कुट पकाउँदाको बासना आइरहन्थ्यो । तर, अब कम्तीमा ५ महिना नेबिको बिस्कुटको बासनाले बालाजु औद्योगिक क्षेत्र वरपर सुगन्ध छर्ने छैन । 

११ घण्टामा ५० करोडको उद्योग खरानी 

नेबिको बिस्कुट उद्योग नेपालकै पूरानो र बालाजु औद्योगिक क्षेत्रकै सबैभन्दा ठूलो उद्योगमा पर्छ । २०७७ साल फागुन २१ गते ५७औँ वार्षिकोत्सव मनाएर लामो यात्रा तय गरेको यो नेबिको बिस्कुटको कारखाना ११ घण्टामा खरानी भयो ।

शनिबार बिहान करिब २ बजेबाट कारखानामा आगो लाग्न सुरु भयो । नियन्त्रणमा लिन निकै कठिनाई भयो । काठमाडौँ उपत्यकाका ३ वटै जिल्ला काठमडौँ, भक्तपुर र ललितपुरका वारुण यन्त्र, त्रिभुवन विमानस्थलको विशेष अग्नि नियन्त्रण टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सिम्रिक एयरको हेलिकप्टरको अथक प्रयासपछि दिउँसो १ बजे तिर आगो नियन्त्रणमा आयो ।

११ घण्टा निरन्तर दनदन दन्किएको आगोको लप्काले ५७ वर्षे इतिहास बोकेको कारखाना खण्डहर बनाईदियो । बिस्कुट र कुकिज उत्पादन प्लान्ट, कन्फेक्सनरी, प्याकेजिङ मेशिनहरु, कच्चा पदार्थसहित बजार पठाउन ठिक्क पारेर राखिएका बिस्कुट र कुकिजले भरिएको गोदाम हेर्दाहेर्दै खरानी भए ।

नेबिको बिस्कुटका ब्रान्ड म्यानेजर अरुण पौडेलका अनुसार ५० करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सानिमा इन्स्योरेन्सले क्षतिको यकिन विवरण संकलनका लागि अहिले सर्भे गरिरहेको छ ।

धन्न मानवीय क्षति भएन

नेबिकोले बालाजु कारखानाबाट २ सिफ्टमा बिस्कुट र कुकिज उत्पादन गर्दै आएको थियो । बिहान ६ बजेदेखि राती १० बजेसम्म २ सिफ्टमा उद्योग चलेपछि बन्द गरिन्थ्यो ।

बिहानीपख २ बजेको समयमा कारखानामा आगलागी हुँदा कारखानामा २ जनासुरक्षा गार्डबाहेक कोही पनि थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन ।

मानवीय क्षति नभएकोमा उद्योग सञ्चालकहरु भगवानलाई धन्यवाद दिँदै छन् ।

बजार गुम्ने चिन्ता

५७ वर्ष अगाडी स्थापना भएको नेपालकै पूरानो नेबिको विस्कुट उद्योगले अहिलेको अवस्थामा आईपुग्न कम्ती दुःख गरेको छैन । झण्डै ६ दशक लामो समय खर्चेर बनाएको ब्राण्ड र बजार तथा व्यापार गुम्ने चिन्ता उद्योगका सञ्चालकहरुलाई छ ।

भैरहवामा रहेको अर्को कारखानाबाट कुल उत्पादनको एक तिहाई मात्रै उत्पादन हुन्छ । बाँकी दुई तिहाई उत्पादन बालाजुको कारखानाले धान्दै आएको थियो । भैरहवाको कारखानाको उत्पादन क्षमता मासिक २ सय टन मात्रै हो । बालाजु कारखानाबाट मासिक ८ सय टन बिस्कुट तथा कुकिज आइटम उत्पादन हुँदै आएको थियो ।

ब्राण्ड म्यानेजर पौडेलका अनुसार भैरहवा कारखानाको क्षमता बढाएर मासिक ३ सय टनसम्म पुर्याउन सकिने देखिएकाले तत्काल यसैको उत्पादन क्षमता बढाएर उत्पादनहरु बजार पठाउन नछोड्ने मनशाया कम्पनी छ ।

डेढ अर्बको कारोबार

ब्रान्ड म्यानेजर अरुण पौडेलका अनुसार बिस्कुटका ५०, कन्फेक्सनरीका ७, कुकिजका ७ र ‘ब्रेकफास्ट सेरल्स’ का ६ ब्रान्ड गरी नेबिकोले ७० प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ । यी उत्पादनलाई देशैर लैजान परिचालित थोक बिक्रेताहरु १२० को संख्यामा छन् । 

वार्षिक १ अर्ब ५० करोडको कारोबार गर्ने नेबिकोले बिस्कुटको बजार हिस्सा १२ प्रतिशत ओगटेको छ । अब कम्तीमा पनि यो कारोबार ७० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

पुनः सञ्चालन गर्न ७० करोड खर्च लाग्ने

आगलागीले युद्धमैदान जस्तो देखिएको बालाजु कारखाना जतिसक्दो चाँडो पुनः सञ्चालनमा ल्याउनका लागि छलफल भईरहेका छन् । तर, जति नै छिटो पुनः सञ्चालन गर्ने भनिएपनि कम्तीमा चार पाँच महिना लाग्नेछ ।

‘मेशिनहरु सब जलेर सकिए, अब नयाँ मेशिन नल्याई कुनै उपाय नै छैन । नयाँ मेशिन ल्याएर जडान गर्नैपर्छ’ ब्राण्ड म्यानेर पौडेल भन्छन्, ‘भवन पनि मर्मत गर्नैपर्छ, यी सबै काम सक्न कुनै बाधा भएन, मेशिन सहजै आईपुग्यो भने चाँडोमा ३ महिना लाग्ग्छ । अहिले ५० करोड बराबरको क्षति भएको छ,  अब भवन, मेशिन सबै नयाँ बनाउँदा ७० करोड जति एक्स्ट्रा हुने देखिएको छ ।’

नेबिको बिस्कुटले अब नयाँ प्रविधि सहितको मेशिन ल्याउने पनि रणनीति बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved