विदेशबाट विलेट ल्याएर फलामे डण्डी उत्पादन गर्दै आएका उद्योगीहरुले पत्रु (कवाडी) बाट फलाम उत्पादन गर्दा गुणस्तरीय फलाम उत्पादन नहुने दाबी गर्दै आएका छन् । तर, स्पञ्ज मात्रै आयात गरेर फलाम बनाउने उद्योगीहरुले यो दाबी गलत भएको बताउँदै आएका छन् ।
उद्योगी अशोक मुरारका भने फलामे डण्डी उद्योगका लागि पत्रु जति राम्रो कच्चा पदार्थ अरु हुनै नसक्ने बताउँछन् ।
‘पत्रु आफैँमा फलाम हो, त्यो विभिन्न कारण खिईएपछि पत्रु हुने हो’ उनी भन्छन्, ‘त्यसलाई पुनः रिफाइन गरेर फलाम बनाउँदा क्वालिटीको फलाम उत्पादन हुँदैन भन्नु मुर्खता हो, अहिले विश्वमा हेर्ने हो भने चीन यसको सबैभन्दा ठूलो (बायर) क्रेता छ ।’
पत्रु किन राम्रो ?
उद्योगी विष्णु न्यौपाने पत्रु सबैभन्दा राम्रो र क्वालिटीको कच्चा पदार्थ भएको बताउँछन् । १ सय किलो स्टील स्क्राप (पत्रु) बाट ९५ किलो विलेट उत्पादन हुने भएकाले यो जत्तिको राम्रो कच्चा पदार्थ फलामे डण्डी तथा छड उद्योगका लागि अरु हुन नसक्ने न्यौपानेको भनाई छ ।
तर, नेपाली उद्योगबाट उत्पादन हुने विलेटमा नेपालमै संकलन भएको पत्रुको योगदान ५ देखि ७ प्रतिशत मात्र भएको उनको भनाई छ । यसबाट बनेको फलाम महँगो पनि हुने न्यौपानेको दाबी छ ।
उद्योगी मुरारकाले त अझ पत्रुबाट बनेको फलाम खराब भनेर हल्ला नफैलाउन चेतावनी नै दिएका छन् । यति मात्रै नभई उनले ‘पत्रुको माल खराब छ भन्ने एउटा प्रमाण दिन’ चुनौती नै दिएका छन् ।
‘कुनैबेला कुनै उद्योगबाट प्राविधिक त्रुटीका कारण खराब माल निस्कियो होला, तर यसैलाई देखाएर पत्रुको माल खराब हुन्छ भन्नु गलत हो’ उनले भने ।
‘प्रिमीयम क्वालिटी दिन सक्छौँ’
अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको आयातमा अन्तःशुल्कसहित भन्सार दर शून्यमा झारेकै कारण तत्काल ५ वटा उद्योग सञ्चालनमा आउने दाबी उद्योगी मुरारकाको छ । ५ वटा उद्योग ५ महिनाभित्र सञ्चालनमा आउने र ती उद्योगहरुले सिर्जना गर्ने रोजगारी र विद्युतको खपत विलेट आयातमा हुने भन्सार दरको तुलनामा बढी हुने उनको विश्वास छ ।
यति मात्रै नभई, विद्युत प्राधिकरणले भारतमा बेच्न प्रस्ताव गरेको मूल्यमा आफूहरुलाई बिजुली दिए ‘५००–डी क्वालिटी’को मात्रै नभई ‘प्रिमीयम क्वालिटी’को डण्डी उत्पादन गर्न सक्ने अशोक मुरारका बताउँछन् । तर, यसका लागि अहिले अहिले उद्योगीसँग प्रति युनिट ९ रुपैयाँ शुल्क लिँदै आएको प्राधिकरणले यो शुल्क ६ देखि ७ रुपैयाँमा झानुपर्ने उनको सुझाव छ ।