ऊर्जामन्त्री भुसालसँग विश्व बैंकका उपाध्यक्षको भेट, उर्जामा लगानी विस्तार गर्ने इच्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 03:02:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । मन्त्रालयमा भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको मन्त्री भुषालको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री भुसालले नेपालको विकासमा विश्व बैंकले पु¥याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरेकी छिन्। उनले भनिन्, “हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्व छ ।” मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सँधै सचेत रहने विश्वास दिलाएकी छिन् ।

भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पु¥याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए  । नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती, गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए ।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए ।

छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकर प्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो । त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एसियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद–जेर्भाेसको सहभागिता थियो ।

विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपाल भित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ । सोहीअन्तर्गत ४०० केभीको हेटौंडा–ढल्केबर–इनरुवा प्रशारण लाइन र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रशारण लाइन विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ ।

त्यस्तै विश्व बैंकको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । यही बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved