६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 02:08:44 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गरेको हो ।

आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम सुरु गरेको बताए । “आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ”, उनले भने, “बाँध, पावरहाउस र पाइपलाइन निर्माणको काम एकैसाथ अघि बढाएका छौ ।” नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ ।

विसं २०७५ देखि सुरु भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए । “छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्साभेटर र मजदूर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,” उनले भने, “ग्याबिन र मेसिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौं ।”

रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ । यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रु एक करोडभन्दा बढी खर्च गरेपनि बँेशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो । “हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनांै”, लेकगाउँका श्याम पुर्जाले भने , “आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।”

बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ । नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण सुरु गरेको थियो । खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलविद्युत् आयोजनाको इन्टेक नजिकै हरिस्वारामा विद्युत् गृह निर्माण गर्न ८० रोपनी जग्गा व्यवस्थापन भएको छ । सुरुङ र नहरको विकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइनबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ ।

प्रतिमेगावाट रु २० करोडको लागत अनुमान गरिएको रेलेखोलामा बैंकको लगानी पनि जुटेको छ । कूल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड््ने योजना छ ।

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । निलगिरी हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved