
कोइलाको अभाव भएको र मूल्य पनि बढेपछि नेपाली बजारमा इँटाको भाउ बढ्ने भएको छ । अहिले आफूहरुले पूरानो कोइलाबाट उत्पादन गरिएको इँटा बिक्रि गरिरहेको र नयाँ कोइलाको प्रयोग थालेपछि मूल्य बढाउने उद्योगीहरुले जनाएका छन् ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारका अनुसार पूरानो कोइलाबाट उत्पादित इँटाको मूल्य ५ देखि १० प्रतिशतसम्म बढिसकेको छ । नयाँ इँटाको मूल्य अझै १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकामा १ नम्बर इँटाको मूल्य प्रतिगोटा १६ देखि १७ रुपैयाँ र २ नम्बर इँटाको मूल्य प्रतिगोटा १५ देखि १६ रुपैयाँ रहेको अध्यक्ष चित्रकारको भनाई छ । ब्राण्ड, गुणस्तर र स्थान अनुसार ५० पैसादेखि १.५० रुपैयाँसम्म मूल्य फरक पर्न सक्ने उद्योगीहरु बताउँछन् ।
१ नम्बर इँटाको अहिलेको भाउमा २० प्रतिशत मूल्य बढे १९ देखि २१ रुपैयाँसम्म पुग्ने देखिन्छ । २ नम्बर इँटाको हकमा भने १८ देखि १९ रुपैयाँ प्रतिगोटा पर्न जाने देखिन्छ ।
सिजनमै किन बढ्दैछ भाउ ?
अहिले इँटा पोल्ने (फायरिङ)को मुख्य सिजन हो । तर, सिजनमै उद्योगीहरुले कोइला नपाउँदा इँटा भट्टीमा फायरिङ गर्न नपाएको बताएका छन् ।
‘एकातिर कोइलाको अभाव छ, अर्कोतिर पनि बढेको छ’ अध्यक्ष चित्रकार भन्छन्, ‘कोइलाको अभाव र मूल्य बढेपछि तयारी इँटाको मूल्य पनि बढ्नु स्वभाविक नै हो ।’
विगत वर्षहरुमा मंसिर लागेपछि इँटाको मूल्य घट्थ्यो । किनकी, यो सिजनमा बजारमा नयाँ इँटा आउँथ्यो । तर, यसवर्ष भने उत्पादनकै सिजनमा मूल्य बढ्ने भएपछि हिउँदको समयमा (दशैँ तिहारपछि, वा मंसिर लागेपछि) घर बनाउँछु भनेर बसेका उपभोक्ताको लागत बढ्ने पक्का भएको हो ।