स्टिल विलेट उत्पादन गर्न कस्सियो लक्ष्मी ग्रुप, २६७ करोड लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 01:18:09 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले प्रतिस्थापन विधेयकमार्फत फलामे डण्डी बनाउने तयारी विलेट आयातमा कर बढाएपछि विलेट आयात गरेर डण्डी बनाउँदै आएका उद्योगीहरुले आपत्ति जनाए । तर, अहिले केही उद्योग भने स्वदेशमै स्टिल विलेट उत्पादन गर्न कस्सिएका छन् ।

यसै क्रममा व्यवसायिक घराना लक्ष्मी ग्रुपले पनि देशमै विलेट उत्पादन गर्न नयाँ कम्पनी दर्ता गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका–६ मा उद्योग रहने गरी लक्ष्मी ग्रुपले ‘समृद्धि मेटालिक्स’ उद्योग दर्ता गरेको छ । 

कति हुनेछ उत्पादन ?

नवलपरासीकै सिद्धिलक्ष्मी उद्योगबाट ‘समृद्धि’ ब्राण्डमा टिएमटी फलामे छड उत्पादन गर्दै आएको लक्ष्मी ग्रुपले अब भने विलेट पनि उत्पादन गर्ने गरी २ अर्ब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको हो । 

उद्योगको वार्षिक विलेट उत्पादन क्षमता २ लाख २२ हजार मेट्रिकटन रहेको छ । 

२ अर्ब चूक्ता पूँजी, ४ सयलाई रोजगारी

उद्योग विभागमा मंसिर १४ गते दर्ता भएको उद्योग पूर्ण रुपमा स्वदेशी लगानीमै सञ्चालन हुने उल्लेख छ । २ अर्ब ११ करोड ४१ लाख चुक्ता पुँजी र ५६ करोड चालू पुँजी रहने प्रस्ताव उद्योगले विभागमा गरेको छ । 

यो उद्योग सञ्चालनमा आएपछि ४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी लक्ष्मी ग्रुपको छ । उद्योग सञ्चालन गर्न ४० हजार केभीए क्षमताको विद्युत आवश्यक पर्नेछ ।

लक्ष्मी ग्रुप विलेट उत्पादनमा किन कस्सियो ?

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ‘स्वदेशी बिजुली खपत गराउने’ ‘लजिक’ पेश गर्दै तयारी विलेटको आयातमा कर बढाईदिए । नेपालमै विलेट उत्पादन गर्न प्रोत्साहन गर्ने भन्दै उनले विलेटको आयातमा प्रतिकिलो १ रुपैयाँ ६५ पैसा रहेको अन्तःशुल्क बढाएर २.५० रुपैयाँ पुर्याए भने ५ प्रतिशत भन्सारलाई यथावत राखिदिए ।

तर, स्पञ्ज आइरन (कच्चा फलाम) आयातमा भन्सार हटाउँदै अन्तःशुल्क पनि नलाग्ने व्यवस्था गरिदिए । यसअघि विलेट र स्पञ्ज आइरनको आयातमा समान ५ प्रतिशत भन्सार दर र प्रतिकिलो १ रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्ने व्यवस्था थियो ।

त्यसपछि विलेट नै ल्याएर फलामे डण्डी उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि लक्ष्मी ग्रुप प्रतिस्थापन विधेयकले गरेको व्यवस्थाको विरुद्दमा रहेका अरु उद्योगहरुको साथ छोड्दै स्वदेशमै विलेट उत्पादन गर्न तम्सिएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved