
नेपाल हस्तकला महासंघ ५० औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्वस वर्षभरी विभिन्न प्रवद्र्धनमुलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित स्वर्ण महोत्सवको समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।
उनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह समेत गरे । नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
‘नेपाल सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिँदै आएको छ, यसमा हस्तकलासमेत थपिएको छ, नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्वद्र्धसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ जुन हाम्रा लागि गौरवको कुरा हो’ उपराष्ट्रपति पुनले भने ।
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्र्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरण सम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरण् ासम्बन्धी तालिम संचालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिए ।
हस्तकलाले खेलेको भूमिकाबारे निवन्ध प्रतियोगिता आयोजना गर्ने, महासंघका पूर्व पदाधिकारी तथा सदस्यलाई क्रमश सम्मान गर्दै जाने, बृक्षारोपणका कार्यक्रम संचालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अंकित मफलर बनाउने रहेको पनि अध्यक्ष शाक्यले बताए ।
महासंघका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताए । महासंघले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठ वर्ष वितिसक्दा पनि नीति कार्यान्वयन नआएको भन्दै उनले गुनासो पनि गरे ।
कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षालगायतका कारण नेपाली हस्तकला संकटबीच गुज्रिरहेको उपाध्यक्ष शाक्यको गुनासो छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासंघले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
उक्त अवसरमा महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणा, महासंघका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा , नरेश लाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
संगठनलाइ देशव्यापी बनाउन हस्तकला संघलाई २०६३ सालमा नेपाल हस्तकला महासंघमा परिणत गरिएको थियो । हाल १७ जिल्ला संघ, १२ वस्तुगत संघ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये १ हजार ७ सय क्रियाशिल सदस्य रहेका छन् ।