बतास माथिको आक्रमण व्यवसायीमाथिकै प्रहार हो: पोखरा उद्योग बाणिज्य संघ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 12, 2022 | 10:53:53 PM मा प्रकाशित

laxmi bank

पोखरा उद्योग बाणिज्य संघले आफ्नो प्रतिष्ठान सदस्य होटल आनन्दका संचालक आनन्दराज बतास तथा बतास ब्रदर्ससँग जोडिएर पछिल्लो समय विभिन्न संचारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 आफ्नो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय भएको संघले जनाएको छ। 

सरकारले टेण्डर आह्वान नगरेको भए,सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आस्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गर्थ्यो  न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो। 

राज्य स्वयंले टेण्डर आस्वान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप/प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको संघको ठम्याइ छ। 

संघले बिज्ञप्तीमा भनेको छ, पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम मात्रै गरेको छैन, आफैले गरेका निर्णयहरु लत्याउने एवं कानूनी राज्यको खिल्ली उडाउने काम भएको छ । प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्नु राज्यको कर्तव्य हो। 

त्यस्ता गतिविधिमाथि कारवाही गरिनुपर्नेमा संघ स्पष्ट छ तर सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनुलाई किमार्थ राम्रो मान्न सकिदैन । अझ संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिइ माननीय मन्त्रीज्यकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो भन्ने आफुहरुको धारणा रहेको सघले जनाएको छ। 

सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरु पनि पट रुपले किटान गरिएकै हुन्छ । ती प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि संघ स्मरण गराउन चाहन्छ। 

पोखरा उद्योग वाणिज्य संघ यस्ता गतिविधिहरु तत्काल रोक्न,राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पुयाइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ । 

बतास व्यक्ति हैन,व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायीमाथिकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्रहत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन भन्नेमा पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved