उदयपुर सिमेन्टद्वारा एम्बुलेन्श र प्रयोगशाला हस्तान्तरण, बैंक र इन्स्योरेन्सबाट आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2022 | 11:24:25 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेण्ट उद्योग जलजले उदयपुरको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्श तथा प्रयोगशाला हस्तान्तरण गरेको छ। त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उद्योगका कर्मचारी तथा स्थानीय बासिन्दाहरुलाई सहज हुनेगरी कम्तिमा लिपिड प्रोफाइल सम्मको प्रयोगशाला स्थापना गर्न जरुरी देखि उद्योग परिसरको सबैभन्दा नजिक रहेको र सबै वडाहरुलाई समेत पायक पर्ने केन्द्रमा रहेको देउरी स्वास्थ्य चौकीको प्रयोगशाला स्तरोन्नति गर्नको लागि  मेसिनहरु जडान गरि आजैदेखि औपचारिक रुपमा ल्याबको उद्घाटन भएको उदयपुर सिमेन्टका प्रवक्ता लक्ष्मण पोखरेलले बताए। 

उद्योगमा रहेका कर्मचारीहरु पनि दिनप्रतिदिन बुढ्यौली तर्फ उन्मुख हुँदै जाने र निजहरुको उपचारमा उद्योगमा रहेको क्लिनिकले आकस्मिक सेवा बाहेक त्यति धेरै प्रभावकारी काम गर्न नसकेको पोखरेलले बताए।  

यसबाट सस्तो सरकारी दररेटमा यस भेगका बासिन्दा तथा सिमेन्टका कर्मचारीहरुले लाभ लिने विश्वास गरिएको छ । त्यसैगरी उद्योगमा एउटा मात्र एम्बुलेन्स भएकाले त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि आजैदेखि संचालन हुनेगरी मेयर मार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।  

उद्योगको आर्थिक अवस्था राम्रो नभएपनि उद्योगले समाज प्रतिको दायित्त्व बोध गरेर थोरै उद्योगको तर्फबाट र धेरै उद्योगसंग प्रत्यक्ष रुपमा सहकार्य गरिरहेका सगरमाथा इन्स्योरेन्स, माछापुच्छ्रे बैंक लगायत विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा आधुनिक प्रयोगशाला स्थापना गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न सफल भएको पोखरेलले बताए।

सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छ्रे बैक लि. को तर्फबाट ५ लाख ६५ हजार  र अन्य संघ/संस्थाहरूको तर्फबाट गरि कुल ३० लाखको लगानीमा यी कार्यहरू सम्पन्न भएको हो। 

आगामी दिनमा एउटा एक्सरे मेसिन समेत राख्न सक्नेगरी भौतिक निर्माण गरिएको बताईएको छ। करीब २५ लाख पर्ने एक्सरे मेसिन समेत जडान गर्न सके त्रियुगा नगरपालिकाको निर्णयानुसार १५ शैयाको अस्पताल स्थापना गर्न सकिने भएकोले आगामी दिनहरुमा यतातर्फ पनि सबै मिलेर सहयोग जुटाउन सके यो एक नमुना अस्पताल बन्न सक्ने न्यौपानेको बिश्वास छ। 

एम्बुलेन्स र प्रयोगशालामा  आवश्यक पर्ने प्राविधिक  जनशक्तिको ब्यवस्थापन देउरी स्वास्थ्य चौकि आफैले गर्ने गरी आ. ब. २०७८/७९ को स्वीकृत बजेटबाट उदयपुर सिमेन्ट उद्योगको तर्फबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

आगामी दिनमा आफुहरुको ध्यान यो भन्दा पनि अझ विकट रहेको खानी क्षेत्र रहेको त्रियुगा वडा नं. १६ स्थित स्वास्थ्य चौकी तथा रौतामाई गाँउपालिकाको मुर्कुचे तर्फ रहेको न्यौपानेले बताए।  

नेपालको राष्ट्रिय गौरवको रुपमा २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले २०४९ सालदेखि ब्यापारिक उत्पादन शुरु गरेको हो।

मिति २०४५ भाद्र १ गते को तत्कालिन मन्त्री परिषद्को निर्णयानुसार विद्युत, सडक लगायतका पूर्वाधारहरु तथा खानीहरु रहेको जग्गा समेत  उपलब्ध गराएको थियो । पछि  २०४६ सालमा उद्योग स्वयंले त्रियुगा नगरपालिका अन्तर्गत  वडा नं. ५,६,७ र ८ उद्योग परिसरमा ५० बिधा १२ कठ्ठा जग्गा र  क्वारी अफिस वडा नं. १६ मा  ५१३  रोपनी जग्गा खरिद गरि उद्योगको नाममा रहेको अवस्था छ ।

प्रवक्ता पोखरेलका अनुसार उद्योगको सम्पत्ति र दायित्वको एकिन गरि नेपाल फाइनन्सियल रिपोर्टिङ स्ट्याडर्ड बमोजिम वित्तीय विवरण तयार गर्नुपर्ने कानुनी वाध्यता भएकोले आ. व. २०७७/७८ को वित्तीय बिवरण तयार हुंदा संचित नोक्सानी हट्न गई चालू आर्थिक बर्ष २०७८/७९ देखि उद्योगलाई नाफामा लैजानेगरी बजेट तर्जूमा गरि कार्यान्वयन गरिएको छ।

उद्योगबाट निस्कने धुलो, धुवाँको कारण प्रभावित रहेका त्रियुगा नगरपालिका वडा नं. ४, ५,६,७, ८, १० र १६ का बासिन्दाहरुको स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका लागि नगरपालिका मार्फत प्रति बोरा २/५० को दरले बर्सेनि लगभग ५० लाखको हाराहारीमा श्रोत जुटाइरहेको र यस आर्थिक वर्ष देखि सो रकमलाई प्रभावित वडाहरुमा नगरले बजेट वितरण गरेको बताइएको छ। 

त्यसैगरी उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीहरु अध्ययन गर्न भनी स्थापना भएको उदयसी अग्रेजी उच्च माध्यमिक स्कूलको व्यवस्थापन उद्योग भित्रकै उच्च तहका कर्मचारी समूहबाट हेरिदै आएको छ।  

पछिल्लो समयमा आम बासिन्दाका छोराछोरीहरु समेत गरि सस्तो शुल्कमा १६ सय विद्यार्थीहरु अध्ययनरत छन । उद्योग परिसरमै रहेको प्रहरी कार्यालय, सुकौरामा उद्योगको अफिस परिसरमा रहेको प्रहरी कार्यालयबाट उद्योगको मात्रै होइन, यस क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुको लागि सुरक्षा प्रदान गरेको छ । यसको लागि उद्योगले विद्युत महसुल भुक्तानी गर्ने व्यवस्था गरेको छ । उद्योग परिसरभित्र रहेको विद्युत प्राधिकरणले उद्योगलाई मात्रै होइन, अझ उदयपुरबासीलाई मात्रै होइन, नजिकका पहाडी जिल्लाहरूमा समेत यसै केन्द्रबाट बिद्युत प्रवाह गरिरहेको छ।

कोभिड कहरको दोस्रो लहरमा देउरी स्वास्थ्य चौकी र सुकौरा स्वास्थ्य चौकीमा अक्सिजन ग्यांसको व्यवस्थापन गरिदिएको थियो । नगरपालिका, बिद्युत प्राधिकरण लगायतलाई लोडर, स्काभेक्टर, ड्रमट्रक लगायतका साधनहरु समयसमयमा उपलब्ध गराउदै आएको छ। व्यक्तिगत रुपमा निश्चित सहुलियत शुल्क लिएर नागरिकहरुलाई एम्वुलेन्स सेवा पनि दिईरहेको छ।  

२०७७ माघ १ गतेदेखि उदयपुर सिमेन्टको महाप्रबन्धकको रुपमा गोपीकृष्ण न्यौपाने प्रवेश गरेपछि उद्योग सुचारु रुपमा संचालन भई रहेको छ।  सुशासन,मर्मत संभार, पारदर्शिता तथा ब्यवस्थापन सुधारका क्षेत्रलाई प्रर्थमिकता दिई कार्य सम्पादन भएकाले आर्थिक वर्ष २०७८/७९ को फाल्गुण २७ गते सम्ममा उद्योगले लक्ष्य भन्दा बढी प्रगति हसिल गरेको छ भने गत बर्षको सोही अवधिको भन्दा बढी उत्पादन तथा बिक्री गर्न सफल भएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved