आईपीओको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स ४ अर्ब ५० करोड लगानी थप्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 06:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

देशको सबैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ । 

रिलायन्स स्पिनिङ मिल्सले विगत लामो समयदेखि ६ वटा उत्पादन इकाईमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी विस्तार गर्ने भएको हो । रिलायन्स स्पिनिङ धागो उद्योगले ६ वटा इकाईबाट वार्षिक करिव ५० मेट्रिकटन भन्दाबढी धागो उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन बढाउनको लागि दुई वटा ७ र ८ इकाई थप्न लागेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले बताए । 

प्रबन्धक पोखरेलले रिलायन्स स्पिनिङ धागो उद्योगमा अहिलेसम्म १० अर्ब लगानी भइसकेको र दुई वटा नयाँ युनिट विस्तार गर्दा कूल लगानी १५ अर्ब ५० करोड पुग्ने जानकारी दिए । उनले नयाँ उत्पादन प्लान्टका लागि मेसिन तथा उपकरण उद्योगमा आउन थालेको बताए । 

अबको ६ महिनाभित्र दुई वटा नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादन गर्ने तयारीमा उद्योग रहेको पोखरेलले बताएका छन् । प्लान्टको जग निर्माणको काम करिव अन्तिम चरणमा पुगिसकेको छ । 

प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताएका छन् । उनले कामदार, विद्युत, दिनप्रति दिन ढुवानी खर्च बढेकाले विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा धागो उत्पादन गरेर विदेश निर्यात गर्न समस्या रहेको गुनासो गरे । प्रबन्धक पोखरेलले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्न जमिन, भवन, मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज सात देशको तुलनामा कम नभएको कारण उत्पादनमा लागतमा अत्याधिक वृद्धि भएको बताए । 

उनले नेपाल–भारत खुला सिमानाका कारण अवैध धागो चोरी निकासी तथा पैठारीको कारणले स्वदेशी कपडा उद्योग ध्वस्त भएसँगै स्थानीय विक्री वितरणमा समस्या रहेको पनि गुनासो गरेका छन् ।  धागो उद्योगको खपत हुने भनेको कपडा उद्योगहरु भएको भन्दै पोखरेलले रिलायन्स उद्योगको उद्देश्य उद्योगबाट उत्पादित धागो नेपालमा नै खपत गर्ने भएको बताए । प्रादेशिक र स्थानीय निकायको ऐन नियमका कारण तत्कालिन गाविस भएका अवस्थामा उद्योगका भवनहरु पुनःनक्सा पास गर्नु पर्ने चुनौती थपिएको गुनासो पोखरेलले गरेका छन् ।

रिलान्यस स्पिनिङ धागो उद्योग दिनको तीन सिफ्ट गरी ३ सय ६२ दिन २४ घण्टा चल्ने गर्छ । कम्पनीका उत्पादनमध्ये ६० प्रतिशत भारत र १५ प्रतिशत टर्कीलगायतका देशमा र बाँकी २५ प्रतिशत नेपालमा खपत हुने गरेको कम्पनीले बताएको छ ।

नेपालमा ऊनी धागोको करिब ८० प्रतिशत माग रिलायन्स कम्पनीले पूरा गर्ने गरेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको खनारमा रहेको मिलको पहिलो दुई प्लान्ट सन् १९९५ चैतमा स्थापना भई सन् १९९७ माघदेखि उत्पादन सुरु भएको थियो । रिलायन्स कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्ब ७९ करोड नाफा आर्जन गरेको थियो । 

नाफा आर्जनका आधारका कम्पनीका सबै कर्मचारीले गत वर्ष ४.२५ महिना तलब बराबरको बोनस पाएका छन् । रिलायन्स उद्योग देशकै सबैभन्दा ठूलो रोजगारदाता भएको उद्योग हो । 

रिलायन्स उद्योगमा अहिले ४ हजार नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिइएको छ । जसमध्ये १५५० महिला रहेका छन् । कम्पनीले थप उत्पादन विस्तारका लागि रकम जुटाउन सर्वसाधारणका लागि बुक बिल्डिङ प्रणालीमा साधरण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको छ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीमा साधरण शेयर (आईपीओ) जारी गर्ने विषयमा विवाद भएसँगै रोकिएको थियो । 

यो मिल्स उद्योगी पवन गोल्यानको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved