सम्राटबाट बाहिरिएका ‘मुकुन्द’: जसले ‘सूर्यतारा’का लागि १४ अर्ब लगानी स्वीकृत गराए

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2022 | 08:51:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मुकुन्द तिमिल्सिनाको सूर्यतारा सिमेन्ट उद्योगको लगानी स्वीकृत भएको छ । यो सिमेन्ट उद्योग कर्णाली प्रदेशकै पहिलो र ठूलो सिमेन्ट उद्योग हुनेछ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत बिहीबार बसेको लगानी बोर्डको ५०औँ बैठकले सुर्खेतको पञ्चपुरीमा सूर्यतारा सिमेन्ट उद्योग खोल्न १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो । यो सँगै मुकुन्द तिमिल्सिना नयाँ र भव्य उद्योगका साथ पुनः सिमेन्ट उद्योगमा उदाउन लागेका हुन् । 

सम्राटबाट बाहिरिएर कर्णालीमै पहिलो उद्योग

मुकुन्द तिमिल्सिना दाङको सम्राट सिमेन्टमा साझेदार थिए । सम्राट सिमेन्टमा मुकुन्दको ३० प्रतिशत सेयर थियो । उनी सम्राट सिमेन्टको कार्यकारी अध्यक्ष नै थिए । तर, उनी लामो समय त्यहाँ रहन सकेनन् । 

सम्राटका अरु लगानीकर्ता वा साझेदार अनिल रुंगटा लगायतसँग कुरा नमिलेपछि मुकुन्दले आफ्नो नाममा रहेको ३० प्रतिशत सेयर नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीलाई बिक्री गरेर २०७८ असार ३१ गते बाहिरिएका थिए । 

त्यसपछि, उनले पञ्चपुरीकै बराह तालमा रहेको चुनढुंगा खानी किने । अब लगानी स्वीकृति भएकाले पश्चिम नेपालको कर्णाली प्रदेशकै पहिलो सिमेन्ट उद्योग खुल्ने पक्का भएको हो ।

दैनिक ३ हजार टन समेन्ट उत्पादन

दाजुभाइ मुकुन्द र सुधीरसहित सूर्यतारा सिमेन्टमा ७ जनाको लगानी रहने छ । उद्योगबाट दैनिक ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट उत्पादन हुनेछ ।

उद्योग लागि ४० बिघा जमिन तयारी अवस्थामा राखिएको छ । 

कर्णाली र सुदूरपश्चिम क्षेत्रलाई लक्षित गरी यो उद्योग खोल्न लागिएको हो । हाल यो क्षेत्रमा सिमेन्ट महँगो छ । हाल दाङ लगायतका क्षेत्रका उद्योगबाट कर्णाली र सुदूरपश्चिममा सिमेन्ट पुर्याइन्छ । त्यसकारण दाङको तुलनामा कर्णाली र सुदूरपश्चिमका जिल्लामा दुरीका आधारमा सिमेन्टको भाउ प्रतिबोरा १५० रुपैयाँसम्म फरक पर्न जान्छ । 

अब सुर्खेतमै सिमेन्ट उद्योग खुलेर त्यहीँबाट उत्पादन हुँदा कम्तीमा ७० देखि ८० रुपैयाँ सस्तोमा सो क्षेत्रका उपभोक्ताले सिमेन्ट पाउने दाबी मुकुन्दको छ ।

उत्पादन कहिलेबाट ?

सूर्यतारा सिमेन्ट उद्योग रहने ठाउँमा अहिले बिजुली पुगेको छैन । लगानी बोर्डले लगानी स्वीकृति गरेकाले अब चाँडै बिजुली पुग्ने आशा लगानीकर्ताको छ । 

बिजुली मात्रै नभई सडक पनि साँघुरो छ । तत्काल बिजुली दिने र सडक स्तरोन्नति गरिदिने प्रतिवद्धता आईसकेकाले बिजुलीको तार तान्न सुरु हुनासाथ उद्योगका लागि आवश्यक पूर्वाधार बनाउने काम थालिहाल्ने तिमिल्सिनाको भनाई छ । बिजुली पुगेको १८ महिनादेखि २ वर्षभित्र उद्योग सञ्चालनमा आउनेछ ।

सूर्यतारा सिमेन्ट उद्योगले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्नेछ । 

यो उद्योगमा प्रत्यक्ष ३ हजारले रोजगारी पाउने दाबी गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved