फेरि बढ्दै फलामको भाउ, अब कति पुग्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 03:39:08 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पञ्ज आइरनको निर्यातमा भारतले भन्सार दर ५० प्रतिशत पुर्याएपछि त्यसको सोझो प्रभाव नेपालका डण्डी उद्योगमा पर्ने भएको छ । जसका कारण हाल इतिहासकै उच्च मूल्यमा पुगेको फलामे डण्डीको भाउ पुनः उकालो लाग्ने भएको हो । 

तयारी बिलेटको आयातलाई कस्न ४.७५ प्रतिशत भन्सार यथावत राखेर स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क शून्य बनाएका अर्थमन्त्री जनार्दन शर्माले अर्को बजेट ल्याउने अन्तिम तयारी गरिरहेकै बेलामा भारतले स्पञ्ज आइरनको निर्यात करमा भारी वृद्धि गरिदिएको हो । 

मूल्य बढ्ने 

भारतले यसअघि ३० प्रतिशत निर्यात कर लगाउँदै आएको स्पञ्ज आइरनमा अब ५० प्रतिशत निर्यात कर लगाउने भएपछि नेपालमा डण्डी महँगो हुने भएको हो । 

निर्यात गर्ने देशमै कच्चा पदार्थ निर्यातमा कर बढेपछि नेपाली बजारमा फलामे डण्डीको भाउ १५ प्रतिशत जतिले बढ्ने अनुमान गरिएको छ । प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको फलामे डण्डीको भाउ हाल भने १०८ रुपैयाँसम्म छ । 

अब यसमा १५ प्रतिशत मूल्य बढ्दा १०८ रुपैयाँमा १६ रुपैयाँ थप हुनेछ । यो भनेको फलामे डण्डीको भाउ १२४ रुपैयाँ प्रतिकिलो पुग्नेछ । 

कच्चा पदार्थको स्टक छैन

नेपाली उद्योगहरुसँग पर्याप्त कच्चा पदार्थ पनि नरहेको उद्योगीहरुले नै बताउँदै आएको छन् । त्यसमाथि, स्पञ्ज आइरन ल्याएर यहीँ बिलेट र फलाम बनाउने उद्योगहरु ६ वटा मात्रै छन् । बाँकी २६ उद्योगहरुले बिलेट ल्याएर फलाम उत्पादन गर्ने भएपनि चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा अर्थमन्त्री शर्माले स्पञ्ज आइरन ल्याउने उद्योग र बिलेट ल्याउने उद्योगहरुलाई विभेदकारी नीति लगाईदिँदा अहिले बिलेट ल्याएर फलाम बनाउने उद्योगहरु बन्द प्रायः छन् । 

स्पञ्ज आइरन ल्याउनेहरुले पनि एकैपटक भदौ तिर ल्याएको स्पञ्ज आइरन सकिने अवस्थामा छ । उनीहरुले अब पुनः स्पञ्ज आइरन ल्याउनुपर्ने समय भएको छ । 

पूरानो स्टक रहेसम्म त्यसको प्रयोग गरेर उत्पादन हुने डण्डीलाई हालकै मूल्यमा बिक्रि गर्ने र नयाँ कच्चा पदार्थ ल्याएपछि लागत मूल्य जोडेर नयाँ मूल्यमा फलाम बेच्नुपर्ने अवस्था रहेको उद्योगीहरु नै बताउन थालिसकेका छन् । 

भारतले नै स्पञ्ज आइरनको खपत बढाउन निर्यात कर बढाएकाले सहजै स्पञ्ज आइरन पाउन सक्ने पनि नरहेको उनीहरुको गुनासो छ । अब भारतबाट स्पञ्ज आइरन ल्याउने नेपाला उद्योगहरुले अर्को देशबाट कच्चा पदार्थ ल्याउने पहल पनि सुरु गर्ने संकेत गरेका छन् । तर, यो पनि तत्कालै सम्भव भने छैन ।

भारतका उद्योगहरुको आग्रहमा भारत सरकारले कच्चा पदार्थको निर्यातमा कर बढाएको भएपनि कच्चा पदार्थ निर्यातकर्ताहरुले भने यो निर्णयको विरोध गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved